काठमाडौं : शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर : पर्मानेन्ट रिसेडन्ट’ को ट्रेलर रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरियो ।
वैदेशिक अध्ययनको लागि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीको संघर्षको कथावस्तुमा फिल्म बनेको छ । ऋणधन गरेर त्यहाँ पुगेका नेपालीले सपना पूरा गर्न गर्नुपर्ने संघर्षमा फिल्म आधारित छ । देशप्रेम पनि फिल्ममा समेटिएको छ । फिल्म प्रवर्धनको लागि कलाकार सुरज पौडेल र विनिता कार्की काठमाडौं आइपुगेका छन् ।
उनीहरुको मुख्य भूमिका रहेको फिल्ममा राजन कुवँर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्तामा रञ्जित साह र सन्तोष तिवारीको छ । लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् । ‘पीआर’ २६ मंसिर (१२ डिसेम्बर) मा प्रदर्शन तयारीमा छ ।











