काठमाडौं : नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेता डा शशांक कोइरालाले पार्टीको १५ औं महाधिवेशनमा दाजुभाइ (डा. शेखर कोइराला र आफू)मध्ये एकजना मात्र सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।
मंगलबार चितवन पुगेका उनले पत्रकारहरू माझ भने, ‘शेखर दाइसँग कुरा हुँदैछ । दुई जनामध्ये एकजना मात्र सभापतिमा लड्छौं ।’
पार्टीमा गुमेको विरासत फर्काउने र नेतृत्व पुनः कोइराला परिवारमा ल्याउने बहस भइरहँदा शशांकले १५ औं महाधिवेशनमा सभापति उठ्नेबारे इतर समूहका नेता तथा नातामा दाइ डा शेखर कोइरालासँग कुरा भैरहेको बताएपश्चात् त्यसको प्रभाव पार्टीपंक्तिमा पनि परेको छ । ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ पनि इच्छुक हुनुहुन्छ,’ शशांकले भनेका थिए ।











