एमालेले महाधिवेशनमा १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गर्‍यो

२०८२ मंसिर २३, मंगलवार

काठमाडौँ : नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ ।

अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो ।

अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालका अनुसार महाधिवेशनमा नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो गरिएको छ । रास्वपाका कार्यवाहक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।

यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र राष्ट्रिय जनमोर्चालाई निम्तो गरिएको छ ।

बरालका अनुसार, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ ।

महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन भएका छन् । मूल आयोजक समितिबाहेक व्यवस्थापनको हिसाबले विभिन्न उपसमितिहरूले आ–आफ्नो काम गरिरहेका छन् ।

मूलतः मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, आवास र स्वयंसेवक व्यवस्थापन लगायतका समितिहरूले आ-आफ्नो ढंगले काम गरिरहेका छन् । प्रचार समितिले पनि आफ्नो काम गरिरहेको छ । महाधिवेशन विशेष लोगो र जिंगल सार्वजनिक गर्ने लगायतका कामहरू भएका छन् ।

यस अन्तर्गत अतिथि सत्कार समितिले महाधिवेशनमा क-कसलाई निम्तो गर्ने भन्ने तय गरेर त्यसअनुसार आमन्त्रण पत्र पठाइएको छ ।

उनका अनुसार विदेशमा रहेका र निम्तो गर्नुपर्ने व्यक्तिहरूलाई भौतिक रूपमा भेटेर नभई शुभकामना सन्देश माग्ने हिसाबले सबैलाई निमन्त्रणा पठाइसकिएको छ । नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि निमन्त्रणा पठाइएको छ र उनीहरूलाई सम्भव भएसम्म उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार