काठमाडौँ : अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेका छन् ।
न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स नामक चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौँ रमेर’को श्रव्यदृश्य सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अभिनेत्री भुसालले कलाकारिता र उमेरका चुनौतीका विषयमा चर्चा गरे ।
उनले भने, “बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ । म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बूढो होइन । यस्ता विषयलाई गीतले राम्रोसँग प्रस्ट्याएको छ, त्यसैले गीत सुन्दर बनेको छ ।”
अभिनेत्री भुसालले ढिलै भए पनि आफ्नो इच्छालाई पूर्णता दिएको भन्दै गायिका लक्ष्मी भुजेल महर्जनलाई गायन क्षेत्रमा निरन्तरता दिन आग्रह गरे । “मैले अभिनयको सुरुआत गर्दा परिवार र समाज दुवैबाट साथ पाउन मुस्किल थियो । समाजले मेरो अगाडि प्रसंशा गरे पनि कुरा काटेको पनि सुनेकी छु ।







