काठमाडौँ : भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।
आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो । यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।
घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । आयोगले आफ्नो बयान प्रक्रिया सकिएसँगै लेखकमाथिको कानुनी बन्देज खुला गरेको हो ।









