काठमाडौं : बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको सिडिओ छन्। मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं ७ को स्थित खरेहामा ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको अख्तियारको दावी छ। अख्तियारले गुरुङलाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो। उनीविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम भएको छ।








