काठमाडौँ : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ।
मागभन्दा उल्लेख्य रूपमा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथा मार्फत शुक्रबार बाँडफाँट गरिएको हो।
कम्पनीले पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता रु. ८२०.८० का दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। उक्त अवधिमा ५ लाख ३२ हजार ८८८ जना आवेदकले कुल २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयर का लागि आवेदन दिएका थिए, जुन निष्काशनभन्दा धेरै गुणा बढी माग हो।
प्राप्त आवेदनमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने विवरण त्रुटि, प्रक्रिया नपुगेको तथा अन्य कारणले १३ हजार ८४२ आवेदन रद्द गरिएको निष्काशन व्यवस्थापकले जनाएको छ।
मागभन्दा धेरै आवेदन परेकाले कम्पनीले नियमानुसार गोलाप्रथा प्रक्रियाबाट आईपीओ बाँडफाँट गरेको हो। बाँडफाँट अनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेको १८ कित्ता शेयर पुनः सोही लगानीकर्ताहरूमा थप १ कित्ताका दरले वितरण गरिएको छ। यस अनुसार १८ जना भाग्यशाली लगानीकर्ताले ५१ कित्ता शेयर प्राप्त गरेका छन्।








