गोरखा–२ बाट चक्रे मिलनलाई एमालेले गर्‍यो उम्मेदवार सिफारिस

२०८२ पुष १८, शुक्रबार

काठमाडौँ : गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा चक्रे मिलन भनेर चिनिएका मिलन गुरुङको नाम सिफारिस गरेको छ ।

गोरखा निर्वाचन क्षेत्रीय कमिटीले शुक्रबार गुरुङको नाम सिफारिस गरेको युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीले जानकारी दिए ।

अधिकारीले युवाहरूको मागअनुसार गुरुङको नाम सिफारिस गरिएको भन्दै निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्नेहरूलाई गोरखामा स्वागत गरिने बताए ।

‘आज गोरखाका आम युवामात्र होइन, नवयुवा पुस्ताको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ । युवाको वास्तविक आवाज संसद्सम्म पुर्‍याउन उनी सक्षम नेतृत्व हुन्’, अधिकारीको भनाइ छ ।

देशभर मिलन गुरुङ (चक्रे मिलन)नामले परिचित उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको दाबी गर्छन् । कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको भएपनि आफू एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको बताउने गरेका छन् ।

‘म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो’ सिफारिस भएका गुरुङको गुनासो छ । गुरुङले उम्मेदवार बन्ने विषय व्यक्तिगत इच्छाभन्दा पनि स्थानीय जनसमुदाय, विशेष गरी युवा तथा नवयुवा पुस्ताको निरन्तर माग र दबाब रहेको प्रतिक्रिया दिए ।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएका कारण गोरखाली जनताले आफूलाई जिताएर संसद्‌मा पठाउनेमा ढुक्क रहेको उनको भनाइ छ ।

डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र मानिने उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । उक्त क्षेत्रमा यो पटक जेनजी अगुवा सुदन गुरुङ पनि निर्वाचन लड्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार