बालबालिकाको मोटोपन रोक्न बेलायतमा जंक फुड विज्ञापनमा कडाइ

२०८२ पुष २२, मंगलवार

काठमाडौँ : बेलायत सरकारले बालबालिकामा बढ्दो मोटोपन नियन्त्रण गर्न जंक फुडका टेलिभिजन र अनलाइन विज्ञापनमा कडाइ गरेको छ ।

सोमबारदेखि लागू भएको नयाँ नियमअनुसार चिल्लो पदार्थ, नुन र चिनीको मात्रा बढी भएका खाना तथा पेय पदार्थका विज्ञापन टेलिभिजनमा राति ९ बजेसम्म प्रतिबन्धित गरिएको छ भने अनलाइन प्लेटफर्ममा पूर्ण रूपमा रोक लगाइएको छ ।

देशभर लागू हुने यस नियमले ‘सफ्ट ड्रिंक्स’, चकलेट, मिठाई, पिज्जा, आइसक्रिमलगायत उच्च बोसो, नुन र चिनी भएका उत्पादनलाई लक्षित गरेको छ । बालबालिकाको अस्वस्थ खानपान र मोटोपन बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारको स्वास्थ्य नीतिअन्तर्गत यो कदम चालिएको हो ।

नियमअनुसार कुन खाद्य पदार्थको विज्ञापन गर्न नपाइने भन्ने निर्धारण पोषक तत्त्वको गुणस्तर र बोसो, नुन तथा चिनीको मात्राका आधारमा तयार गरिएको ‘स्कोरिङ टुल’ प्रयोग गरेर गरिनेछ । अस्वस्थकर खानामा मात्र नभई केही ‘ब्रेकफास्ट’ खाद्यान्न, चिनीयुक्त पाउरोटी, स्यान्डविच र पोरिजका विज्ञापनमा पनि प्रतिबन्ध लाग्ने व्यवस्था गरिएको छ ।

सादा ओट्स, अधिकांश पोरिज, म्युजली र ग्रानोला भने प्रतिबन्धबाट बाहिर रहनेछन् । तर चिनी, चकलेट वा सिरप मिसाइएका यस्तै उत्पादनका विज्ञापन प्रभावित हुन सक्नेछन् । नियमअनुसार कम्पनीहरूले ब्रान्डको नाम वा लोगोको प्रचार गर्न पाउने भए पनि जंक फुड उत्पादनको प्रत्यक्ष विज्ञापन गर्न पाउने छैनन् ।

नयाँ व्यवस्थाले ठूला कम्पनीहरूलाई तुलनात्मक रूपमा कम असर पार्ने र साना कम्पनीहरू बढी प्रभावित हुने अनुमान गरिएको छ । साना व्यवसायहरूका लागि उत्पादनभन्दा बाहिर गएर ब्रान्ड प्रवर्द्धन गर्न आवश्यक विज्ञापन खर्च धान्न चुनौतीपूर्ण हुन सक्ने देखिन्छ ।

नियम उल्लंघन गर्ने कम्पनीहरूमाथि ‘एडभरटाइजिङ स्ट्यान्डर्ड्स अथोरिटी’ (एएसए) ले कारबाही गर्नेछ । साथै स्थानीय निकायलाई विद्यालय आसपास नयाँ फास्ट फुड पसल स्थापना रोक्ने अधिकार पनि दिइएको छ । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को तथ्यांकअनुसार बेलायतमा चारदेखि पाँच वर्ष उमेर समूहका करिब ९.२ प्रतिशत बालबालिका मोटोपनबाट प्रभावित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार