काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोडेको झन्डै दुई दशक बितिसक्दा पनि नेपालले भोगिरहेको सङ्कटले आफूलाई गहिरो चिन्तित तुल्याएको बताएका छन् ।
राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशमा उनले विगतमा देश निर्माण हुन नसकेकोमा चिन्ता थियो भने अहिले देश नै टिक्न सक्छ कि सक्दैन भन्ने निराशा पैदा भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि मुलुकले सामना गरिरहेका सङ्कटहरूले हामीलाई निकै चिन्तित बनाएको छ ।
हिजो देश बनाउन नसकिएकोमा चिन्ता थियो, आज देश नै बच्न सक्छ कि सक्दैन भन्ने निराशा जागेको छ ।’ पूर्वराजा शाहका अनुसार, भाषण, जादु वा चमत्कारले देश बन्दैन । यसका लागि सबै जातजाति, धर्म र क्षेत्रका नेपालीहरूको साझा प्रतिनिधित्व गर्ने राजसंस्थाले जनताबाट प्राप्त जिम्मेवारीबाट पन्छिन सक्दैन ।
उनले सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीनारायण शाहको मार्ग (पृथ्वीपथ) मा अघि बढ्नुपर्ने आह्वान गरेका छन् ।











