काठमाडौं : आगामी प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्र काठमाडौँ-१ बाट उम्मेदवार बन्ने भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार मिश्रलाई काठमाडौँ-१ को टिकट दिएका छन्।
उम्मेदवारी दर्ता गर्नअघि राप्रपा कार्यालयमा उपस्थित हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। ‘मंगलबार बिहान ११ बजे, राप्रपा क्षेत्र नं. १ को नयाँ बानेश्वरस्थित कार्यालय (कृष्ण टावरको अगाडी) मा जम्मा भएर उमेदवारी मनोनयनका लागि प्रस्थान गरिने जानकारी गराउन चाहन्छु,’ मिश्रले भनेका छन्।
उनी पछिल्लो दुई चुनावमा काठमाडौँ-१ मा थोरै मतले पराजित भएका थिए। २०७४ सालमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रले १० हजार ११८ मत पाएका थिए। त्यतिवेला नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मत पाएर निर्वाचित भएका थिए।









