काठमाडौँ : रियलमीले शक्तिशाली ब्याट्री भएको नयाँ स्मार्टफोन ‘रियलमी पी फोर पावर’ (Realme P4 Power) सार्वजनिक गरेको छ ।
कम्पनीले पहिलो पटक १०,००१ एमएएचको ब्याट्री क्षमतासहित यो फोन बजारमा ल्याएको हो । नयाँ जेनेरेसनको सिलिकन–कार्बन ब्याट्री प्रविधि प्रयोग गरिएको फोनले आठ वर्षसम्म उत्कृष्ट ब्याकअप दिने दाबी गरिएको छ । १,६५० पटक चार्ज गर्दा पनि यसको ब्याट्री क्षमता ८० प्रतिशतभन्दा कम नहुने कम्पनीको भनाइ छ ।
रियलमी पी फोर पावरको सबैभन्दा बलियो पक्ष यसको ब्याट्री टिकाउपन हो । फुल चार्ज भएपछि यो फोनमा लगातार १२ घण्टा BGMI (Battlegrounds Mobile India) गेम खेल्न वा ३२ घण्टाभन्दा बढी युट्युब भिडिओ हेर्न सकिन्छ । त्यसैगरी, २१ घण्टा नेभिगेसन र १२ घण्टासम्म फोरके भिडिओ रेकर्डिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
ब्याट्री मात्र ५ प्रतिशत बाँकी रहँदा पनि प्रयोगकर्ताले करिब ४ घण्टा कुराकानी गर्न वा एक घण्टाभन्दा बढी समय नेभिगेसन प्रयोग गर्न सक्ने बताइएको छ । फोनमा ८० वाटको सुपरभोक फास्ट चार्जिङ सुविधा छ, जसले ३६ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्छ । साथै, यसमा २७ वाटको ‘रिभर्स चार्जिङ’ सुविधा समेत छ, जसबाट अन्य स्मार्टफोन समेत चार्ज गर्न सकिन्छ ।
यो फोन ९.०८ एमएम पातलो र २१९ ग्राम तौलको छ । यसलाई अत्यधिक चिसो र तातो दुवै वातावरणमा चल्ने गरी तयार पारिएको छ । यो फोन -३० डिग्री सेल्सियसदेखि ५६ डिग्री सेल्सियसको तापक्रममा पनि सहजै चल्न सक्ने कम्पनीको दाबी छ । पानी र धुलोबाट जोगाउन यसमा आईपी६६, आईपी६८ र आईपी६९ रेटिङ दिइएको छ, जसको अर्थ यो फोन २ मिटर गहिरो पानीमा पनि सुरक्षित रहन्छ ।
रियलमी पी फोर पावरमा ६.८ इन्चको १४४ हर्ज रिफ्रेस रेट भएको क्वाड-कर्भ्ड डिस्प्ले छ, जसको अधिकतम ब्राइटनेस ६,५०० निट्स रहेको छ । फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा (Sony IMX882 सेन्सर) र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा दिइएको छ । सेल्फीका लागि अगाडि १६ मेगापिक्सेलको क्यामेरा छ ।
फोनमा डाइमेन्सिटी ७४०० अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । सफ्टवेयरतर्फ यसमा एन्ड्रोइड १६ मा आधारित रियलमी यूआई ७.० रहेको छ । कम्पनीले यसमा तीन वर्षको ओएस अपडेट र थप एक वर्षको सेक्युरिटी प्याच दिने घोषणा गरेको छ ।
फ्ल्यास ओरेन्ज र पावर सिल्भर रङमा उपलब्ध यो फोनको पछाडिको भाग पारदर्शी डिजाइनमा छ, जहाँबाट एनएफसी कोइल समेत देख्न सकिन्छ । ब्याट्री प्रविधिमा क्रान्ति ल्याउने उद्देश्यका साथ रियलमीले यो ‘पावर हाउस’ स्मार्टफोन बजारमा उतारेको हो ।
नेपाली बजारमा रियलमीले चाँडै नै यो मोडेल भित्र्याउने अनुमान गरिएको छ । छिमेकी भारतीय बजारमा तीन विभिन्न स्टोरेज भेरियन्ट र कलर अप्सनमा उपलब्ध गराइएको छ । यसअन्तर्गत ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको सुरुवाती भेरियन्टको मूल्य २५,९९९ भारु तोकिएको छ ।
त्यस्तै, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टलाई २७,९९९ भारु पर्नेछ भने १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको हाई इन्ड भेरियन्टको मूल्य ३०,९९९ भारु कायम गरिएको छ । यी फोनहरू ट्रान्स-सिल्भर, ट्रान्स-अरेन्ज र ट्रान्स-ब्लु गरी तीन कलर अप्सन हुनेछन् ।









