बागलुङ : गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कूल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन् ।
बस दुर्घटनामा धौलागिरी अस्पतालमा उपचाररत सबै घाइते घर फर्किएका हुन् । गत बिहीबार बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग १ च ८६२१ भ्यान दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । कक्षा ४ का सुजल छन्त्यालको उपचारको क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र कक्षा ८ का अमन बोहोराको दुर्घटना भएकै दिन धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना सङ्गम किसानको उपचार भइरहेको छ । बाँकी पाँच जना अनन्या किसान, आयान बोहोरा, सोलुमान रसाइली, निकित किसान र सुमन गैरेको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिए ।
दुर्घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा समिति गठन भएको छ ।









