काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गरेको हो । हैदराबादले दिएको २१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १५९ रनमा अलआउट भयो । प्रफुलले पहिलो ओभरमै तीन विकेट लिएका लिए । आक्रामक ओपनर वैभव सूर्यवंशीलाई शून्यमै आउट गरेका उनले ध्रुव जुरेल र लुहान्द्रे प्रेटोरियसलाई पनि शून्यमै आउट गरे ।
त्यसपछि यशश्वी जैसवाल साकिब हुसेनको बलमा १ रनमा अनि कप्तान रियान पराग प्रफुलकै बलमा ४ रनमा आउट भएपछि राजस्थान ९-५ को दयनीय अवस्थामा पुगेको थियो । डोनोभन फेरेरा र रविन्द्र जडेजा मिलेर शतकीय साझेदारी गरे । यी दुई मिलेर छैटौं विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए । फेरेराले सर्वाधिक ६९ रन बनाए भने रविन्द्र जडेजाले ४५ रन बनाए ।
प्रफुल र साकिब दुवैले ४-४ विकेट लिए । प्रफुलले ४ ओभरमा ३४ रन दिएर ४ विकेट लिए भने साकिबले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । इशान मलिंगाले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनाएको थियो । कप्तान इशान किशनले ४४ बलमा सर्वाधिक ९१ रन बनाए । हेनरिक क्लासेनले ४० रन बनाउँदा नितिश रेडीले २८ अनि सलिल अरोराले अविजित २४ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा सन्दीप शर्मा, तुशार देशपान्डे र रियान परागले १-१ विकेट लिए ।










