काठमाडौं : चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सविरुद्व आठ विकेटको सहज जित निकालेको छ ।
मंगलबार अरुण जेट्ली रंगशालमा घरेलु टोली दिल्लीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य चेन्नईले १७.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।चेन्नईको स्यामसनले अविजित ८७ रनको इनिङ खेले । उनले ५२ बलमा सात चौका र छ छक्का प्रहार गरे । कार्तिक शर्मा ४१ रनमा अविजित रहँदा उर्भिल पटेलले १७ रन जोडे ।
तेस्रो विकेटका निम्ति स्यामसन र शर्माबीच ११४ रनको साझेदारी भएको थियो । दिल्लीका मिचेल स्टार्च र लुंगी एनगिडीले समान एक विकेट लिए ।त्यसअघि, टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो ।
दिल्लीका समीर रिज्भीले अविजित ४० रनको इनिङ खेले । ट्रिस्टन स्टब्सले ३८, पथुम निसन्काले १९, नितिश राणाले १५ र आशुतोष शर्माले १४ रनको योगदान दिँदा करुण नायरले १३ र केएल राहुलले १२ रन जोडे । छैटौँ विकेटका निम्ति रिज्भी र स्टब्सले ६५ रनको साझेदारी गरेका थिए ।
चेन्नईका लागि नुर अहमदले दुई विकेट लिए । अकिल होसेन, मुकेश चौधरी, गुर्जपनित सिंह र जेमी ओभरटनले समान एक विकेट हात पारे ।










