काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबारसम्मको प्रदर्शनलाई आधार मानेर बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा उनी चौथो स्थानबाट एक स्थान तल झरेका हुन्। यद्यपि उनको रेटिङ अंक २३९ यथावत् रहेको जनाइएको छ।
यसैबीच, नेपाली पुरुष टोली हाल सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगितामा सहभागी छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो।
उक्त खेलमा ऐरीले ब्याटिङ गर्ने अवसर पाएका थिएनन् भने बलिङतर्फ पनि कुनै विकेट लिन सकेनन्।
वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् रहेका छन्, जसको रेटिङ ३२८ कायम छ। दोस्रो स्थानमा भारतका हार्दिक पान्ड्या र तेस्रोमा पाकिस्तानका सयम अयुब रहेका छन्।
त्यस्तै, चौथो स्थानमा अफगानिस्तानका अजमतुल्लाह उमरजाई रहेका छन् भने वेस्ट इन्डिजका रोस्टन चेज पाँचौँ स्थानमा उक्लिएका छन्। चेजको रेटिङ पनि २३९ नै रहेको र उनी ऐरीसँगै समान अंकमा पाँचौँ स्थानमा रहेका छन्।








