बुटवल : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले गत निर्वाचनको नतिजाले पार्टीलाई ठूलो खबरदारी गरेको र अप्ठेरो अवस्थामा पुर्याएको बताए ।
‘पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ, किनभने हामी अप्ठेरो अवस्थामा छौँ,’ उनले भने, ‘जनताको त्यो खबरदारीलाई बुझ्न सकेनौं र सतर्क भएनौं भने आगामी दिनमा पार्टी झन् कमजोर हुन्छ ।’
नेता पाण्डेले बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने बताए । ‘अब रिफर्मेसनले मात्र पुग्दैन, पार्टीको नेतृत्व देखि संगठनको संरचनासम्म रिभोलुसन (क्रान्ति) नै चाहिन्छ’, उनले भने ।
कसले पद छाड्ने भन्दा पनि पार्टीलाई काँचुली फेराउन सबै नेता कार्यकर्ताले आ–आफ्नो पद छाड्न तयार हुनुपर्ने पाण्डेको भनाइ छ ।
नेता पाण्डेले अबको युग आर्टिफिसियल इन्टेलिजेन्स एआई र डिजिटल प्रविधिको भएको उल्लेख गर्दै एमालेलाई परम्परागत फिजिकल संरचनाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।
पाण्डेले समाज निरन्तर परिवर्तनशील रहेको र त्यसअनुसार पार्टीका विचार, नेतृत्व विकासको शैली तथा संगठनात्मक संस्कृतिमा पनि समयानुकूल सुधार आवश्यक पर्ने बताए । ‘मदन भण्डारीको समयदेखि अहिलेसम्म विश्व र समाजमा ठूलो परिवर्तन आइसकेकाले पार्टीले पनि आफूलाई बदल्नुपर्छ’, नेता पाण्डेले भने, ‘गत चुनावमा हामी मतदाता र कार्यकर्ताको घर घरमा पुगेर भोट माग्न थाल्यौं, अरुले विदेशबाट समेत सबै मतदातालाई फोन गरेर भोट मागेर भ्याइसकेका रहेछन् । त्यसैले अब मतदाता र कार्यकर्तासंग फिजिकल्ली भेटेर भन्दा आफ्ना विचार र एजेण्डा डिजिटल्ली भन्न, बुझाउन सक्नुपर्छ ।’
वर्तमान अवस्थाबाट यथास्थितिमै पार्टी आन्दोलन अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेरै संगठनात्मक सुधारका लागि अध्ययन तथा सुझाव संकलन गर्न कार्यदल बनाएर काम गरिरहेको बताए ।
नेता पाण्डेले एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा पार्टीको नतिजा, उमेर, स्वास्थ्य अवस्था आदि तमाम चुनौती हेरेर नेतृत्व छाड्नुपर्ने बताए । ‘स्वयं अध्यक्ष पनि सोचिरहनुभएको होला, उहाँ १७४ सांसद भएको दलको नेता, प्रधानमन्त्रीबाट २५ सांसद भएको दलको नेतामा आउनुभएको छ, यो ग्राफले के बताउँछ ? अब उहाँको बाँकी जीवनमा यो ग्राफ उभो लाग्ला कि नलाग्ला ? त्यसकारणले उहाँले आफैले विचार गरेर निर्वाचनको नतिजा, उमेर, स्वास्थ्य अवस्था आदि तमाम चुनौति हेरेर परिपक्व निर्णय लिनुहोला भन्ने आशा छ’, उनले भने ।
यथास्थितिमा पार्टीलाई माथि उठाउन निकै ठूलो चुनौतिपूर्ण रहेको भन्दै उनले पार्टीलाई काँचुली फेराउन सबै नेता कार्यकर्ताले आ–आफ्नो पद छाड्न तयार हुनुपर्ने बताए ।








