काठमाडौं : प्रभु बैंक लिमिटेड र भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकले अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। सम्झौताअनुसार अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीले औषधि तथा उपभोग्य सामग्रीबाहेकका सेवाशुल्कमा १० प्रतिशत छुट पाउनेछन्।
त्यसैगरी, भर्ना नभई उपचार गराउने बिरामीले औषधि र परामर्श शुल्कबाहेकका अन्य सेवाशुल्कमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो अस्पतालका डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका प्रमुख मार्केटिङ अधिकृत (चिफ मार्केटिङ अफिसर) दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहने जनाइएको छ।
प्रभु बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिँदै आएको जनाएको छ।








