पर्वत : पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।
कालीगण्डकी करिडोरको मालढुङ्गा-बेनी खण्डमा पर्ने फर्से बस्तीबाट दैनिक करिब ८१२ लिटर दूध निर्यात हुँदै आएको हो । यहाँका ३६ वटा व्यावसायिक पशुपालन फार्मबाट उक्तमात्रामा दूध उत्पादन हुने गरेको छ । स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थामा आबद्ध कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका छन् ।
बजारको समस्या नभएपछि यहाँका किसान व्यावसायिक पशुपालनमा लागेका हुन् । प्रत्येक किसानले न्यूनतम पाँचदेखि ३० वटासम्म गाईभैँसीपालन गरेका छन् । दैनिक ५० देखि १०० लिटरसम्म दूध उत्पादन गर्ने किसानले बस्तीमा रहेको सङ्गम दुग्ध उत्पादक सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री गर्दै आएका छन् ।
यहाँ सङ्कलित दूध छिमेकी जिल्ला बागलुङमा रहेको दुग्ध सहकारी संस्थाले खरिद गर्दै आएको छ । उक्त संस्थाले प्रतिलिटर रु ९० देखि गुणस्तरका आधारमा रु १२५ सम्मका दरले किसानबाट दूध लिने गरेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार दूध बिक्रीबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।
सहकारीमा दूध सङ्कलन गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले प्रतिलिटर रु पाँचका दरले ढुवानी अनुदानसमेत दिँदै आएको छ । ढुवानी अनुदान पाएपछि किसानलाई सहज भएको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार दूध उत्पादक किसानलाई सहकारीले बैंक खातामा रकम भुक्तानी दिने गरेको छ ।








