काठमाडौँ : राष्ट्रिय महाधिवेशन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने भएको छ ।
निर्वाचित सांसदहरूको दबाब र जातीय संकीर्णताका कारण स्थगित भएको अधिवेशन महाधिवेशन अगाडि हुने सम्भावना नरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले जेठ २६ गते एक सूचना जारी गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेस अधिवेशनको सम्पूर्ण गतिविधि स्थगित गरिएको जानकारी दिएको थियो । आयोगका प्रमुख भुवन केसीले राष्ट्रिय महाधिवेशनको मिति नजिकिएकाले मधेसको अधिवेशन तत्काल हुने सम्भावना नरहेको बताए ।
‘महाधिवेशन अगाडि मधेस प्रदेशको अधिवेशन गर्न सम्भव छैन । हामीसँग समय पनि छैन । विधि, प्रक्रिया, पद्धति अनुसार मधेसमा काम गर्न त्यति सजिलो छैन । शान्तिपूर्ण र सुरक्षित रूपमा अधिवेशन गराउन अप्ठ्यारो छ । बरु महाधिवेशन पछि विशेष समिति बनाएर अधिवेशन गर्दा उपयुक्त हुने देखिन्छ’, केसीले भने ।








