काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा मागेका छन् ।
३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै प्रचण्ड-माधवले पार्टी हाँक्न नसकेको आरोप लगाएका छन् ।
पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईँ संयोजक र सह-संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेसन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस् ।
विगतमा ओली र प्रचण्डको ‘दुई पाइलट’ मोडेलले पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै खनालले अहिले फेरि त्यस्तै गल्ती दोहोर्याएको बताएका छन् । पार्टी अब ‘बल्छीमा परेको माछा’ जस्तै भएको टिप्पणी गर्दै खनालले प्रचण्ड र सह-संयोजक दुवैलाई मार्गप्रशस्त गर्न सुझाएका छन् ।
उनले पार्टीमा संयोजक र सहसंयोजक तोकेकोप्रति पनि आपत्ति जनाएका छन् ।





