पाण्डेको ‘हरियो नुवाकोट अभियान’ले कृषकमा पलायो नयाँ आशा

२०८३ असार १५, सोमबार

काठमाडौं : कुनै समय वैदेशिक रोजगारी र बसाइँसराइका कारण गाउँका बारी बाँझिन थालेका नुवाकोटका धेरै बस्तीमा यतिबेला फेरि हरियालीका साथै  फर्काउने प्रयास भइरहेको छ। घर आँगन, कान्ला र पाखो जमिनमा सुन्तला र कागतीका बिरुवा रोप्ने उत्साह बढ्दै जाँदा स्थानीय कृषकहरू पनि भविष्यमा आम्दानीको नयाँ आधार बन्ने आशामा छन्।

यही उद्देश्यका साथ वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डेले सञ्चालन गर्दै आएको ‘हरियो नुवाकोट अभियान’ अहिले जिल्लाभर फैलिएको छ ।३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले आफ्नो गृह जिल्ला नुवाकोटलाई फलफूल उत्पादनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन सोचका साथ विगत दुई वर्षदेखि १२ वटै स्थानीय तहमा कागती र सुन्तलाका बिरुवा वितरण अभियानलाई तीव्रता दिएका हुन्।

अभियानअन्तर्गत चालु आर्थिक वर्षका लागि जिल्लाभरबाट ३ हजार २४० वटा कागती र २८ हजार १७५ वटा सुन्तलाका बिरुवा गरी जम्मा ३१ हजार ४१५ वटा बिरुवाको माग संकलन भएको थियो । जसमध्ये हालसम्म किस्पाङ र म्यागङ गाउँपालिकामा गरी १४ हजार ४ सय ६५ वटा बिरुवा वितरण भइसकेको छ भने अन्य स्थानीय तहमा पनि चरणबद्ध रूपमा वितरण भइरहेको पाण्डेले जानकारी दिए ।

उनका अनुसार अभियानको लक्ष्य बिरुवा बाँडेर मात्र पूरा हुँदैन । सही स्थान छनोट, गुणस्तरीय बिरुवा, प्राविधिक परामर्श र दीर्घकालीन अनुगमनमार्फत उत्पादन सुनिश्चित गर्नु अभियानको मुख्य प्राथमिकता हो । अहिले खाडल निरीक्षण, प्राविधिक अनुगमन तथा वितरण व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन् ।

यो अभियानले छोटो समयमै उल्लेखनीय विस्तार पाएको छ। सन् २०२५ मा जिल्लाका ११ वटा स्थानीय तहमा २६ हजार ६ सय ८० वटा सुन्तला र ३० हजार ६ सय वटा कागती गरी कुल ५७ हजार २ सय ८० वटा बिरुवा वितरण गरिएको थियो। त्यसभन्दा अघिल्लो वर्ष २०२४ मा तारकेश्वर र म्यागङ गाउँपालिकामा २४ हजार ९ सय ३३ वटा बिरुवा वितरण गरिएको थियो।

कृषकमा उत्साह, भविष्यप्रति भरोसा

बिरुवा वितरणसँगै गाउँका कृषकहरूमा पनि नयाँ उत्साह देखिएको छ । धेरैले आफ्ना खाली रहेका पाखाबारी र कान्लालाई व्यावसायिक बगैंचामा रूपान्तरण गर्ने योजना बनाउन थालेका छन् । केही कृषकले भविष्यमा सुन्तला र कागती बिक्रीबाट नियमित आम्दानी हुने विश्वास व्यक्त गरेका छन् भने युवाहरूले पनि गाउँमै फलफूल खेती गरेर स्वरोजगार बन्न सकिने सम्भावना देख्न थालेका छन्।

मेघाङ गाउँपालिकाका कृषक छेपोन तामाङले अनुसार यस्तो अभियानले खेतीप्रतिको आकर्षण बढाउनुका साथै गाउँमा हरियाली विस्तार गर्ने, वातावरण संरक्षण गर्ने र बाँझो जमिनको सदुपयोग गर्ने काममा समेत महत्वपूर्ण योगदान पुर्याणउनेछ। फलफूल उत्पादन बढेपछि स्थानीय बजारसँगै काठमाडौं लगायतका शहरमा समेत नुवाकोटका उत्पादन पुग्ने अपेक्षा गरिएको छ।

हरियालीसँगै आर्थिक समृद्धिको लक्ष्य

पाण्डेका अनुसार ‘हरियो नुवाकोट अभियान’ केवल वृक्षारोपण कार्यक्रम होइन, यो वातावरण संरक्षण र आर्थिक समृद्धिलाई जोड्ने दीर्घकालीन अभियान हो। अभियानले भू–क्षय नियन्त्रण, जलस्रोत संरक्षण, कृषि उत्पादन वृद्धि, ग्रामीण रोजगारी सिर्जना तथा कृषकको आयस्तर उकास्ने लक्ष्य राखेको छ।

उनले गुणस्तरीय बिरुवा सही स्थानमा रोपिएर उचित हेरचाह हुन सके केही वर्षभित्रै नुवाकोटका धेरै गाउँमा व्यावसायिक सुन्तला र कागती खेती विस्तार हुने विश्वास व्यक्त गरे। “हामी बिरुवा मात्रै बाँडिरहेका छैनौँ, भविष्यको आम्दानीको आधार रोपिरहेका छौँ,” पाण्डेले भने । स्थानीय तह, कृषक र अभियानबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै आगामी वर्षहरूमा पनि वितरण कार्यक्रमलाई निरन्तरता दिइने योजना रहेको छ।

अभियानको दीर्घकालीन लक्ष्य नुवाकोटलाई सुन्तला र कागती उत्पादनको नमुना जिल्लाका रूपमा स्थापित गर्नु पनि रहेको छ । हरियाली विस्तारसँगै कृषकको अनुहारमा देखिएको मुस्कानले यो अभियानले केवल बिरुवा रोपेको मात्र होइन, ग्रामीण अर्थतन्त्र, वातावरण र भविष्यप्रतिको आशा पनि सँगै रोप्न थालेको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार