काठमाडौँ : चलचित्र ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर चलचित्रका तीन पोस्टर फस्ट लुक्सको रूपमा सार्वजनिक गरिएको हो ।
चलचित्रले आशा, सङ्घर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताए । चलचित्र माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारको अभिनय छ । कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको चलचित्रको छायाङ्कन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, गीतमा मनोज थापा मगर, शिव बराइली र सुरज तमुको सङ्गीत सुन्न पाइनेछ ।
चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ । चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ ।



