काठमाडौँ : नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ।
भारतमा बसी नेपालमा लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहको खोजलताल गर्ने क्रममा प्रहरीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई गोली हानेर पक्राउ गरेको हो।
निजलाई आज सिरहाको लागुऔषध नियन्त्रण ब्यूरो शाखा र स्थानीय प्रहरी टोलीको सहयोगमा सिरहाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। प्रहरीमाथि पेस्तोल तेर्साएपछि नियन्त्रणमा लिन गोली हान्नु परेको उनले बताए।
कलामले भारतको लालबनियाँ नाकाबाट नेपालको सिराहा, महोत्तरी हुँदै काठमाडौँ उपत्यकासम्म लागुऔषध हेरोइन ओसारपसार गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको उनले बताए। उनका अनुसार लागुऔषध ओसारपसार गर्ने गिरोहमा सहभागी अन्य तीन जना भने फरार भएका छन्।
पक्राउ पर्न लागेको थाहा पाएपछि सुरुमा गिरोहले कटुवा पेस्तोलबाट प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरी आत्मसमर्पण गर्न चेतवानी दिँदा अटेर गरी कटुवा पेस्तोल ताकिरहेकाले बायाँ खुट्टाको घुँडामुनी एक राउण्ड फायर गरी पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
निजको साथबाट लागुऔषध खैरो हेरोइन ११५ ग्राम २० मिलिग्राम तथा कटुवा पेस्तोल पनि बरामद भएको छ। साथै घाइतेको प्रदेशिक अस्पताल सिराहामा उपचार भइरहेको जनाउँदै प्रहरी उपरीक्षक रेग्मीले फरार रहेका तीन जनाको खोजतलास जारी रहेको बताए।








