साउनको तेस्रो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

२०८३ श्रावण १८, सोमबार

काठमाडौँ : यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको तेस्रो आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

बेलुकी करिब ७ बजेसम्म पनि मन्दिरमा भक्तजनको लाम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चान्द्रमास अनुसार आज श्रावणको पहिलो सोमबार भएकाले पनि भक्तजन विगतका दुई सोमबारभन्दा बढी आएका छन् । बिहान ३ बजेदेखि पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए ।

साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका उनले बताए । आज दिउँसोसम्म पानी परेकाले धेरै भक्तजन प्रभावित भएका भन्दै भण्डारीले आएका भक्तजन छाता ओढेर लाममा बसेका उल्लेख गरे । उनका अनुसार पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पुजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । पहिलो र दोस्रो सोमबार साउन ४ र ११ गते भन्दा आज पशुपति क्षेत्रमा थप सहज व्यवस्था गरिएको दर्शनार्थीले बताएका छन् ।

विगतका दुई हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा गरिएको कोषले जनाएको छ । बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि घुइँचो थियो । बिहानै दशौँ हजार बोल बम यात्रीले जल चढाएका छन् । बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको कोषले जनाएको छ ।

यसैगरी विन्ध्यवासिनी आध्यात्मिक संस्थाले आज पशुपतिनाथ मन्दिरमा दूध अर्पण गरेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाको विशेष सेवा एवं सहभागिता रहेको छ ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा आराधना गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरती पछि ८ बजेसम्म भक्तजनका लागि खुला गरिएको हो ।

विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र भएको थियो । मन्दिर छिर्न चार वटा लाइनको व्यवस्था गरिएको कोष सञ्चालक परिषद्का सदस्य भण्डारीले जानकारी दिए । उनका अनुसार बिहानैदेखि भक्तजन आए पनि वर्षाका कारण लामो लाम भने थिएन । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

विभिन्न संस्थाले बिहानैदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । महारुद्र परिवारले भने निःशुल्क स्वास्थ्य शिविरका भुवनेश्वरी मन्दिरअघि भक्तजनका लागि भण्डाराका व्यवस्था गरेको थियो । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि घुइँचो लागेको जनाइएको छ ।

यसैगरी देशभरका साना, ठूला सबै शिवालयमा पनि भक्तजन पूजा आराधना एवं दर्शनका लागि लाइनमा बसेका छन् । राजधानी बाहिरका शिवालयमा आज विगतका दुवै सोमबारभन्दा बढी भक्तजन आएको नागेश्वर तथा बाणेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिए ।

चान्द्रमास अनुसार श्रावण महिना लागेपछिको आज पहिलो सोमबार भएकाले पनि ती मन्दिरमा धेरै भक्तजन पूजा आराधना एवं दर्शनका लागिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार