काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सूचना तथा सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरेका छन् ।
उनले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी) का अपेक्षाअनुसार काम गर्नुपर्ने भए पनि पाँच महिनाको अभ्यासले त्यसको विपरीत अवस्था देखिएको बताए ।
विप्लवले भने, ‘सबै जनताको आशा र हाम्रो पनि सामान्य अपेक्षा थियो कि यत्रो विद्रोहको जनादेशपछि आएको सरकारले केही न केही जेनजीका भावना र जनताका आकांक्षा तथा अपेक्षाअनुरूप काम गर्छ । तर पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेकोप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् । बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन् ।’
उनले विद्रोहको भावनाबाट सम्पन्न निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनका अनुसार जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन र चकनाचुर हुन थालेका छन् ।



