महोत्तरी : चुरे शिखरको उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलबाट एक किलोमिटर दक्षिणसम्म रातु नदीले महोत्तरी र धनुषा जिल्ला छुट्याउँछ ।
करिब २८ किलोमिटरको यो दूरीबीच नदीका दायाँबायाँका वन क्षेत्रमा निर्मित पोखरी चुरेकाछका मात्र नभएर तलसम्मकै बस्तीका लागि जीवनदायिनी बनेका छन् । रातु वारिपारिका यो क्षेत्रमा २१३ पुनर्भरण पोखरी छन् । गत वर्ष कम पानी प¥यो । धेरै ठाउँका पानीका स्रोतका मुहान सुकेर खानेपानीकै समस्या भयो ।
तर रातु नदीको पानी नै खानेपानीको स्रोत रहेका रातु वारिपारिका २० भन्दा बढी बस्तीमा पानीको समस्या भएन । महोत्तरी र धनुषा दुवैतर्फ रातु वारिपारिका नदी किनार, बस्ती छेउछाउ र वन क्षेत्रमा बाक्लै पोखरी भएपछि पछिल्ला पाँच–सात वर्षयता खानेपानीका लागि समस्या नआएको यहाँका बासिन्दा बताउँछन् ।
बर्दिबास–१, २, ३, ६, ७, ८ र १४ नम्बर वडाका खानेपानीका धारा रातु नदीकै मुहानबाट डोहो¥याउँदै भण्डारण गरिएको टङ्याकीबाट घरघरै वितरण गरिएको छ । यसैगरी धनुषातर्फ मिथिला नगरपालिका–११ का लोटाहा, दूधपानी, बाहुनमारा, विशम्भर, तुलसी र ढाँडखोला बस्तीका लागि खानेपानीको स्रोत रातु नदी हो । यसैगरी मिथिला–९ र १० लालगढका १० भन्दा बढी टोलबस्तीका बासिन्दा खानेपानीमा रातु नदीमै आश्रित छन् ।
‘बर्दिबास र मिथिलाका गरेर सानाठूला २० बस्तीका करिब ३० हजार जनसङ्ख्याको प्रत्यक्ष रुपमै खानेपानीको स्रोत रातु नदी रहेको छ, यसको मुहान सुके खानेपानीको हाहाकार पर्छ’, मिथिला–१० लालगढकी सामाजिक अगुवा महिला मञ्जु रिसाल भन्छिन्, ‘पहिले त यो जङ्गलमा बनाइने पोखरीको महत्व थाहा थिएन, पछि बुझियो हाम्रो खानेपानीको स्रोतको मुहान रसाइराख्न यी पोखरीको निकै महत्व रहेछ ।’
वन क्षेत्रमा बाक्लै खनिएका यिनै पोखरीमा भरिएको पानीले नदीको मुहान रसाइराख्न मद्दत गर्दोरहेछ भन्ने बुझेपछि समुदायले आफ्नै प्रयासबाट पनि ससाना डबरा (सानो पोखरी) सखार्ने र सरसफाइ गर्ने गरिएको उनले बताइन् ।
रातु नदी वारिपारिका यी क्षेत्रमा चुरे, जलाधार क्षेत्र र पर्यावरण संरक्षणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले विभिन्न राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्था र समुदायसँगको सहकार्यमा पुनर्भरण पोखरी निर्माणलाई अभियानमै जोडेको छ ।
‘अहिलेसम्म रातु नदी वारिपारिका बस्ती छेउ र वन क्षेत्रमा २१३ वटा पुनर्भरण पोखरी छन्, यी समुदायकै अग्रसरतामा निर्मित हुन्’, चुरे तथा जलाधार विज्ञसमेत रहनुभएका मञ्चका अध्यक्ष नागदेव यादव भन्छन्, ‘निकै लामा खडेरीमा पनि चुरे क्षेत्रका पानीका स्रोतका मुहान सुक्न नदिन यी पोखरीले ठूलो भरथेग गरेका छन् ।’ यी पोखरीबाट धेरथोर खेतीपातीमा सिँचाइको पनि सुविधा किसानले लिँदै आएका छन् । त्यसैले यतातिर खाली ठाउँ खोजी गरेर अझै पुनर्भरण पोखरी बढाउन साझा पहलकदमी जरुरी भएको उनको भनाइ छ ।
पानीका स्रोतका मुहान बचाइराख्न मधेसभरि सबै जिल्लामा चुरे संरक्षण, खोल्साखोल्सी व्यवस्थापन र पुनर्भरण पोखरी निर्माणलाई स्थानीय तहले मुख्य पहलकदमी लिनुपर्ने यादवको भनाइ छ । स्थानीय तहहरूले यस कार्यमा आपसी समन्वय बढाउँदै प्रदेश र सङ्घीय सरकारको चासो बढाउनुपर्ने यादवको सुझाव छ ।
‘चुरे पर्ने कुनैकुनै स्थानीय तहले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा चुरे सरोकारमा चासो दोखाए पनि पूर्वपश्चिम राजमार्गमुनिका स्थानीय तहले खासै वास्ता गरेको देखिन्न, चुरे सिङ्गो मधेसको जीवनको आधार हो भन्ने कुरा बुझाउन सकिएको छैन क्या र !’ उनी भन्छन्, ‘उनीहरूको बुझाइ चुरे पर्ने स्थानीय तहको जिम्मेवारी भन्ने पाइन्छ, जबकि मधेसको पानीको मुख्य स्रोत नै चुरे हो’, चुरे संरक्षण सबैको चासोमा पर्नुुपर्ने विज्ञ यादव सुझाउछन् ।
पछिल्ला केही दशकयता बर्सेनि जलवायु परिवर्तनको जोखिम बढ्दो छ । पूर्वपश्चिम राजमार्गमुनिका महोत्तरीका अधिकांश बस्तीमा पानीका स्रोत इनार, बोरिङ र चापाकल रहँदै आएका छन् ।
सुक्खाले गर्दा बर्सेनि भूमिगत पानीको सतह गहिरिँदै गएपछि हिउँदपछि पानीको हाहाकार पर्दै आएको छ । यो अवस्था अन्त्य गर्न पुनर्भरण पोखरी निर्माणलाई राज्य, समुदाय र सामाजिक सङ्घसंस्था सबैले पहलकदमी लिनुपर्ने अर्का चुरेविज्ञ भङ्गाहा–७ मेघरोलका बासिन्दा डा विजयकुमार सिंह बताउछन् ।
चुरे पाहाडका काछ र वन क्षेत्रमा निर्माण गरिने पोखरीले जल पुनर्भरणका साथै वन्यजन्तुलाई खानेपानीको सहजता थपिने चुरे आसपास बस्तीका पाका व्यक्ति बताउँछन् । लामो खडेरीले वनका पानी अडिने खाल्डाखुल्डी सबै सुकेपछि वन्यजन्तु पानीकै लागि टाढाटाढासम्म बस्ती पस्ने गरेका बर्दिबास–५ चेरुका ८५ वर्षीय सामाजिक अगुवा भोगेन्द्रराज पौडेलको भनाइ छ ।
‘सुन्नुभएको छ नि, वन्यजन्तु दशगजासम्मका बस्तीमा पुग्ने गरेका छन्, त्यो वनमा आहारा र पानी नपाएर हो’, पौडेल भन्छन्, ‘वनभित्र खाली ठाउँमा पोखरी निर्माण बढे वन्यजन्तुलाई पानी र वनको डढेलो निभाउन पनि सहज हुनेछ ।’
वन क्षेत्रमा रहेका पोखरीले वरपरको बहाव क्षेत्र तथा वर्षाको पानी सङ्कलन गरी भूमिगत स्रोतको पुनर्भरण गर्ने विज्ञहरू बताउँछन् । यसले मधेसका सुदूर दक्षिणी बस्तीसम्म पानी आपूर्तिमा मद्दत पुग्ने अर्का चुरे तथा जलाधारविज्ञ डा नागेन्द्रप्रसाद यादव बताउछन् ।
भूमिगत पानीको सतह गहिरिँदै जाँदा पानीको स्रोतमा आश्रित मानव बस्ती, वन्यजन्तु र जलचरको अस्तित्व नै सङ्कटमा पर्ने डा यादवको भनाइ छ । यो अवस्था हुन नदिन जमिनमुनि जल पुनर्भरण गर्नका लागि सबै तहतप्का र समुदायले वर्षाको पानी सङ्ग्रहित गर्ने काम अभियानकै रूपमा गर्नुपर्ने उनको सुझाव छ ।
बढ्दो सहरीकरण र वन विनासले गर्दा जमिनले वर्षाको पानी सोस्न नसक्दा भूमिगत पानीको सहत गहिरिँदै गएको विज्ञहरूको मत छ । खानपिउनदेखि खेतीपातीको काम पानीकै भरमा हुन्छ । यसकारण पानी जोगाउन र यसका स्रोत संरक्षण गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने चुरे तथा पर्यावरण क्षेत्रका अभियानी बर्दिबास–४ माइस्थानका सोम कार्कीको भनाइ छ ।








