जाजरकोट : ससुराको हत्या गरेको आरोपमा जाजरकोटमा एक महिला पक्राउ परेकी छन् ।
जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्या आरोपमा उनकी माइली बुहारी सर्मिला शाही पक्राउ परेकी हुन् । प्रहरीका अनुसार २०८२ साउन ११ गते साँझ घरको सिँढी नजिक शाहीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनास्थलबाट हँसिया (खुर्पा) समेत बरामद भएको थियो ।
अनुसन्धानका क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले गत असोज ७ गते सर्मिलाको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पक्राउ परेकी सर्मिलालाई जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









