काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ को आयात तथा बिक्रीरवितरणमा तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।
बिस्कुटमा मानिसले खान नमिल्ने गाईवस्तुको दानामा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि विभागले सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले हिजो जारी गरेको सूचनाका आधारमा यो निर्णय गरेको विभागले जनाएको छ ।
विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति स्थगन गरिएको जनाएको हो।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले आयात रोक्ने, बजारबाट उत्पादन फिर्ता गराउने र बिक्री वितरण नियन्त्रण गर्ने निर्णय गरेको हो।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७ मा जारी गरेको सूचनालाई आधार बनाएर नेपालले यस्तो कदम चालेको विभागले जनाएको छ।











