काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अहिलेसम्म ७७ मध्ये २४ जिल्लामा अधिवेशन सकिएको बताएको छ।
उक्त पक्षले सहमतिमै जिल्ला सभापतिसहित पदाधिकारी र सदस्य चयन गरेको हो। देउवा पक्षले सुरूमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन गरेको थियो। जिल्ला अधिवेशन मिति भने कार्यतालिकाअनुसार कात्तिक १५ गतेका लागि थियो।
तोकिएको समयसम्म २४ जिल्लामा मात्रै अधिवेशन सकिएको छ भने डडेल्धुरा, धादिङ, बाजुरा र दाङमा अधिवेशन जारी छ। देउवा पक्षले बाँकी जिल्लामा एक दुई दिनभित्रै अधिवेशन गरिने जनाएको छ। त्यसपछि मंसिर ४ मा प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५ औं महाधिवेशन हुनेछ।
पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर अधिवेशन प्रारम्भ भएको थियो।











