मिनी बस र कन्टेनर ट्रक ठोक्किँदा २६ जनाको मृत्यु

२०८३ कार्तिक २७, शुक्रबार

काठमाडौँ : भारतको असमस्थित काजिरङ्गामा शुक्रबार एउटा मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन्। असमका मन्त्री अतुल बोराले दुर्घटना र मानवीय क्षतिको पुष्टि गरेका हुन्।

ठक्कर यति भयानक थियो, दुर्घटनापछि मिनी बस पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। कैयौँ यात्रुहरू च्यापिएपछि उद्धार टोलीले बसको भाग काटेर शवहरू बाहिर निकालेको थियो। दुर्घटनाका बेला बसमा जम्मा कति यात्रु सवार थिए भन्ने यकिन विवरण भने आइसकेको छैन।

गोलाघाटका एसएसपी स्वप्निल डेकाले पीटीआईसँग कुरा गर्दै भने, ‘बस तीव्र गतिमा थियो। चालकले नियन्त्रण गुमाउँदा अगाडिबाट आइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’ प्रहरीका अनुसार उक्त बस बोकाखाटबाट नगाउँतर्फ गइरहेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त सवारी साधनले यसअघि पनि पटक-पटक गति सीमा उल्लङ्घन गरेको पाइएको छ। तीव्र गतिकै कारण यसअघि १२ पटक काटिएको चलानमध्ये ३८ हजार ५०० रुपैयाँ जरिवाना तिरिसकिएको र ४ हजार रुपैयाँ तिर्न बाँकी रहेको खुलेको छ।

दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी कोहोरा मोडल अस्पताल पुर्‍याइएको थियो भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि जोरहाट मेडिकल कलेज पठाइएको छ। यस हृदयविदारक घटनाप्रति भारतका राष्ट्रपति तथा प्रधानमन्त्रीले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

भारतको केन्द्रीय सरकारको तथ्याङ्कअनुसार असममा सन् २०२० देखि २०२४ सम्मको पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी १५ हजार ३०६ जनाको मृत्यु भइसकेको छ। जसमध्ये सन् २०२४ मा सबैभन्दा धेरै ३ हजार ३५१ जनाले ज्यान गुमाएका थिए। त्यसैगरी सन् २०२३ मा ३ हजार २९६ र सन् २०२२ मा २ हजार ९९४ जनाको सडक दुर्घटनाका कारण ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार