सुन तस्करी प्रकरण : अनुसन्धानमा प्रहरीको संलग्नता गराउन प्रधानमन्त्रीको अस्वीकार

२०८० श्रावण १८, बिहीबार

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठबीच भनाभन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भनाभन भएको छ । विमानस्थलबाट तस्करी भएको करिब सय किलो सुन तस्करीको अनुुसन्धानमा प्रहरीलाई संलग्नता नगराएको विषयमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच भनाभन भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सिआईबी प्रमुख किरण बज्राचार्यबीच बिहीबार छलफलमा उनीहरुबीच भनाभन भएको एक सहभागीले बताए । राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि श्रेष्ठले अनुसन्धान निचोडमा पुर्‍याउन कठिन हुने र सरकारको काम प्रभावकारी नदेखिने बताएका थिए ।

‘गृहमन्त्रीज्यूले राजश्वको काम निरन्तर दिनुपर्ने तर संगठित अपराध अनुसन्धानमा प्रहरीलाई सहभागी गराउनु पर्ने धारणा राख्नु भएको थियो तर प्रधानमन्त्रीज्यूले मान्नु भएन’, छलफलमा सहभागीमध्ये एकले भने । बिहिबार साँझ प्रधानमन्त्रीलाई दबाब दिन दलबलसहित पुगेका गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्रीको छलफलपछि आफ्नो मन्त्रालय नगई बाहिरिएका थिए ।

‘प्रहरी प्रमुख वसन्त कुँवर र सिआईबी प्रमुख किरण बज्राचार्यलाई लिएर प्रधानमन्त्रीको पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान प्रहरीलाई दिनु पर्ने प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरेपछि गृहमन्त्रालय नगई बाहिरिएका छन्’, स्रोतले भन्यो । विभागको टोलीले साउन ३ गते करिब सय किलो सुन बरामद गरेपछि अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने पक्षमा उभिएका थिए । तर गृहमन्त्रीको सो चाहानामा प्रधानमन्त्रीले वेवास्था गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार