‘सहकारी ठग र गृहमन्त्री एउटै हुन कि होइनन् प्रहरीले छुट्याउन सकेन’ : गगन थापा

२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रहरीले छुट्टाउन नसकेपछि संसदीय समिति माग गरिएको बताएका छन्। संवाद यात्राका क्रममा बुधबार कञ्चनपुर पुगेका महामन्त्री थापाले एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘हामीले के भन्यौ संसद्मा भने सहकारीको रकम अपचलन भएको छ। अपचलनका बारेमा प्रहरीको अनुसन्धान विश्वसनीय छैन। त्यसकारण संसदीय छानबिन माग गरेका हौ,’ महामन्त्री थापाले भने। कांग्रेसले भनेको कुरा अहिले प्रमाणित भएको उनले दाबी गरे।

‘हामीले भनेको कुरा हिजो त प्रमाणित भयो। अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्‍यो,’ उनले भने, ‘मुद्दा दर्ता गर्दै गर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो। र प्रहरीको अनुसन्धानलाई आधार बनाएर लैजादाखेरी के भन्यो भने कि सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन की होइनन् भन्ने थाहा नभएको हुनाले मैले त्यो अनुसारले प्रतिवादी बनाउन सकिनँ भनेर भन्यो।’

प्रहरीले सहकारी ठग रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन भनेर जाँच्ने क्षमता मसँग छैन भनेपछि अब संसदीय समिति बनाउने कि नबनाउने भनेर महामन्त्री थापाले प्रश्न गरे। ‘प्रहरीले म सक्दिनँ भनिसकेपछि अब संसदीय समिति बनाएर त्यो कुरा खोज्नुपर्‍यो कि परेन ? त्यो हाम्ले नखोजे कसले खोज्छ ?,’ उनले भने।

यस्तो अवस्थामा कांग्रेस, एमाले, माओवादी केन्द्र वा नयाँ दलका व्यक्ति जोकोहीको मान्छे भएपनि यही गर्नुपर्ने महामन्त्री थापाले बताए। कांग्रेस कानुनी शासनका पक्षमा रहेको महामन्त्री थापाले दाबी गरे। उनले भने, ‘कानुनी शासन भनेको एउटा सर्वसाधारणले कुनै कुरा गर्दा गल्ती वा अपराध मानेर दण्ड पाउँछ भने, शक्तिशालीले पनि उक्त गल्ती गर्दा अपराध नै हुन्छ र दण्ड पाउनुपर्छ।’

सर्वसाधारणले सहकारीको एक अर्ब पैसा कुनै कम्पनी खोलेर ऋण नतिरी बन्द गरे भोलि प्रहरीले समात्छ कि समात्दैन ? प्रहरीले अनुसन्धानको दायरामा लिन्छ कि लिँदैन ? भन्ने प्रश्न गर्दै महामन्त्री थापाले अन्यका हकमा पनि लागु हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार