घोराहीका महिला हस्तकला व्यवसायबाट महिनामा २० हजारसम्म कमाउँछन्

२०८१ बैशाख ५, बुधबार

घोराही : दाङमा पछिल्लो समय हस्तकला व्यवसायमा महिलाहरूको आकर्षण बढेको छ। उनीहरूले हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर‍ राम्रै आम्दानी गर्न सफल भएका पनि छन्। हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ की सरिता चौधरी बताउँछिन्।

हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन्। हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले भनिन्, ‘हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ।’

थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा १५ देखि २० हजार रूपैयाँसम्म सजिलै कमाउन सकिने उनले बताइन्। हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने चौधरी बताउँछिन्। ‘घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी, मोबाइल हेरेर समय बित्थ्यो, अहिले कामले गर्दा फुर्सद हुँदैन,’ उनले भनिन्।

उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छन्। सरिताजस्तै सुमित्रा चौधरीले पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानीगरेकी छन्। तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लागेकी उनले महिनामा २० हजारसम्म कमाइ हुने बताइन्।

घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको उनले बताइन्। ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन। सामग्री उत्पादनमा मात्रै लाग्नुभएका महिलाले महिनामा रु ३० हजारसम्म कमाइरहेका छन्,’ उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार