
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कम्युनिस्ट नेतृत्वको सरकारले असंवैधानिक तवरले संसद्को विघठनलगायत अनेकौं काण्ड र महाकाण्ड गरेजस्तै अहिलेको कम्युनिस्ट गठबन्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।
बुधबार नेपाल मुस्लिम संघ, लम्बिनी प्रदेशको बुटवलमा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुनअनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए।
‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’
नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाएजसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे। उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक अस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे।