कांग्रेसका नेताहरूसँग बसेर एक कप चिया पनि खाएको छैन : उपेन्द्र यादव

२०८१ बैशाख २६, बुधबार

काठमाडौं : जनता समाजवादी नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक तरिकाले नयाँ दल निर्माणको प्रमाणपत्र दिएको भन्दै यसविरूद्ध अदालतमा जाने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले आफू बाहिर भएका बेला पार्टी विभाजन गरिएको र निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उनले बताए। ‘केही व्यक्तिहरूले अत्यधिक महत्वाकांक्षी र व्यक्तिगत स्वार्थबाट प्रेरित व्यक्तिहरूले फाइदा उठाएर पार्टी विभाजनको घोषणा गरे, दल दर्ता भएको खबर आयो। ऐन नै नभएका बेला रातारात पार्टी दर्ता भएको घोषणा गरे,’ उनले भने, ‘नेपालको इतिहासमा दल दर्ताको प्रमाणपत्र दिएको सायद पहिलोपटक हो। संघीयतालाई धरापममा पार्नेगरी पार्टी विभाजन गर्न भनेर गरे त्यो असंवैधानिक छ, त्यसलाई हामी कोर्टमा लिगल चुनौती दिन्छौं।’

उनले आफू प्रतिनिधि भएर विश्व जनसंख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको बेला मौका छोपेर जसपा र  नेकपा एकीकृत समाजवादी मिलेर सरकार ढाल्ने भए भनेर हल्ला चलाएको आरोप लगाए। उनले सरकार ढाल्ने विषयमा आफूले कांग्रेसका नेताहरूसँग छलफल नगरेको पनि दाबी गरे।

‘संयोग नै मान्नुपर्छ यो सरकार बनेपछि मैले कांग्रेसका एक जना नेतालाई भेटेको छैन, सँगै बसेर एक कप चिया पनि खाएको छैन,’ अध्यक्ष यादवले भने,‘संघीयताको रक्षा र सरकारको स्थायित्वको लागि यही सरकारलाई समर्थन गर्नुपर्छ भन्नेमा पहिले पनि थिएँ। समर्थन यथावत् छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार