शिक्षकको काज सरुवामा कडाइ गर्दै शिक्षा मन्त्रालय

२०८१ बैशाख २७, बिहीबार

काठमाडौं : पहुँच र शक्तिका आधारमा शिक्षण पेसामा आबद्ध शिक्षक विभिन्न निकायमा काजमा जाने क्रम बढेको गुनासो आएपछि शिक्षा मन्त्रालयले कडाइ गर्ने भएको छ । शिक्षा मन्त्रालयमा मंगलबार बसेको सचिवस्तरीय बैठकले शिक्षकलाई शिक्षण पेसाबाहेक अन्य काममा नखटाउने निर्णय गर्दै यसको कार्यान्वयनका लागि ७७ वटै जिल्लाका शिक्षा समन्वय इकाइलाई परिपत्र गर्ने निर्णयसमेत गरेको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार हजारभन्दा बढी शिक्षक विभिन्न निकायमा काजमा खटिएका छन् । मन्त्रालयले राजनीतिक आड र पहुँचमा बहाल रहेको विद्यालय छाडेर अन्य कार्यालयमा बसेर काम गरिरहेका शिक्षकको तथ्यांक संकलनसमेत थालेको छ । केन्द्र, प्रदेश र स्थानीय तहका प्रशासनिक काममा समेत शिक्षकलाई काज सरुवा गरेको पाइएको छ । तर, त्यसरी शिक्षकले काजमा काम गर्न नपाउने भएकाले त्यसमा कडाइ गर्न लागिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले जानकारी दिए ।

काजमा बसेका शिक्षकबारे गुनासो आउने क्रम बढेपछि कडाइ गर्न लागिएको शर्माले बताए । ‘कतिपय शिक्षक विभिन्न ठाउँमा काजमा बसेका छन् भनेर गुनासो आयो । कतिपय स्थानीय तहले अन्य काममा लगाउने गरेको पनि पाइयो, प्रदेश तहमा पनि उस्तै छ,’ उनले भने, ‘शिक्षकले पढाउने काम छाडेर अन्य काम गर्न मिल्दैन ।’

शिक्षक काजमा खटाएर पठनपाठनमा समेत अवरोध पुर्‍याएको गुनासोका आधारमा कडाइ गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालय तथा विभिन्न कार्यालयमा अधिकृत तथा स्वकीय सचिवकै रूपमा पनि शिक्षकलाई राख्ने गरेको पाइएको थियो । अब भने मन्त्रालयले त्यसरी काजमा बसेर काम गरेकालाई फिर्ता पठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार