सत्ताका लागि लहसिने प्रवृत्तिले कांग्रेस कमजोर भयो : नैनसिंह महर

२०८१ बैशाख २७, बिहीबार

रुपन्देही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रै सत्ताका लागि लहसिने प्रवृत्तिले पार्टी कमजोर भएकाले अब पार्टी प्रतिपक्षमै बसेर बलियो बनाउनुपर्ने बताएका छन् ।

‘पार्टीभित्रै एक पक्षले एमाले र अर्को पक्षले माओवादीसँग लहसिएर फेरि पनि सत्तामा जानुपर्छ भन्ने प्रवृत्ति छ, अब सत्ताका लागि काँग्रेसले अरुलाई बैशाखी बनाउने होइन, फरक ढङ्गबाट अघि बढ्नु पर्छ’, प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

महरले गठबन्धनबिना पनि पार्टीलाई अघि बढाउन सकिने बताउँदै काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने तर्क राखेका छन् । उनले वर्तमान सरकार कानूनअनुसार चल्न नसकको टिप्पणी गरेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबी लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु गलत भएको दाबी गरे ।सत्तामा रहेका दलहरु सहकारीका ठगहरुलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै उनले सरकार रुल अफ लको विपक्षमा लागेकाले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्नसक्ने उनको तर्क थियो ।

संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रवि लामिछानेलाई कारबाही हुनु पर्ने अडानबाट पछाडि जान नसकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार