खानेपानीको गुणस्तर जाँच गरिँदै

२०८१ बैशाख २७, बिहीबार

खजुरा : परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ ।

गाउँमै पानी परीक्षण शिविर राखेर खानेपानीको गुणस्तर जाँच गर्न थालिएको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनिका अनुसार कोहलपुरवासीलाई स्वच्छ र सफा खानेपानी पुर्याउन स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ ।

“प्रदेश र सङ्घीय सरकारले पनि अहिलेदेखि नै यस विषयमा ध्यान दिनुपर्दछ, गर्मी समयमा कोहलपुरमा पानी आउन छाडिसक्यो, खानेपानीको माग बढ्दै जाँदा केही समयपछि खानेपानीको समस्या धेरै हुनसक्छ”, नगरप्रमुख आचार्यले भने , “यसको समाधानका लागि अहिलेदेखि नै सबै लागेका हौँ ।” ‘समयमै खानेपानी परीक्षण गराऔँ, पानीजन्य सरुवा रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथै शिविरको आयोजना गरिएको उनिले जानकारी दिए ।

रझेनामा कोहलपुर बृहत् सहरी खानेपानीको पहुँच नपुगेकाले हाल स्थानीयले इनार, ट्युबेललगायतको पानी खाने गरेका वडाध्यक्ष श्रीकृष्ण थारूले बताए । बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन ६४ घरको खानेपानीको नमूना सङ्कलन गरिएको बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव गोविन्द वाग्लेले जानकारी दिए । उनिका अनुसार दुई सयवटा खानेपानीका नमूना सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

“रभेना गाउँबाट लिइएको खानेपानीका १५÷१६ प्रकारका परीक्षण हुनेछन्”, वाग्लेले भने , “अहिलेलाई पहिला खानेपानीका नमूना सङ्कलन गरिरहेका छौँ । त्यसको रिपोर्ट केही दिनमा आउँछ ।”

उनिका अनुसार शिविरबाट सङ्कलन गरिएका खानेपानीको नमूनामा टिडिएस, कडापन, इसी, एमोनिया, क्यालिसियम, पिएच, धमिलोपना, क्लोराइड, नाइट्रेट इ–कोली, आर्सेनिक, तापक्रम, फोस्फेट, फलाम, कालीफर्मलगायत परीक्षण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार