सदरमुकाममै खानेपानीको चरम अभाव

२०८१ बैशाख २८, शुक्रबार

मार्तडी : बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सुक्खा खडेरीका कारण खानेपानीको चरम अभाव भएको छ । लामो समयदेखिको खडेरीका कारण पानीको मुहान सुक्दा खानेपानीको अभाव भएको हो ।

एक सातादेखि सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीयले बताएका छन् । यसमा मार्तडी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र बडीमालिका नगरपालिकाको चरम लापरबाही देखिएको छ । पालिकाबाट खानेपानीका लागि बजेट व्यवस्थापन गरिए पनि मार्तडी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नियमित रूपमा खानेपानी सञ्चालन गर्न नसकेको आरोप बडीमालिका नगरपालिकाले लगाएको छ ।

सदरमुकाम मार्तडीमा यत्रतत्र पाइपलाइन छरिएका र काटिएका छन् । यसलाई व्यवस्थापन गर्न नसक्नु उपभोक्ता समितिको कमजोरी रहेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए । उनका अनुसार खानेपानीको व्यवस्थापन गर्न नगरपालिकाले गर्ने काम सबै गरिरहेकै छ । नगरपालिकाले मार्तडी बृहत् खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रममा समेटेको छ । अबको आर्थिक वर्षबाट खानेपानीका लागि थप बजेट विनियोजन गर्ने प्रमुख केसीले बताए ।

सुक्खा खडेरीका कारण मुहान सुक्दै गएपछि खानेपानी अभाव भएको खानेपानी व्यवस्थापक कर्णबहादुर रावलले दाबी गरे  । सदरमुकाम मार्तडीमा ५५५ वटा धारा छन् । खडेरीका कारण मुहान सुक्दै गएपछि बेलुका र बिहान एक/एक पटक सबैलाई पानी दिने गरेको उनले जिकिर गरे  ।

उनका अनुसार समितिले वैकल्पिक स्रोतको पनि खोजी थालेको छ । खानेपानी समस्याका कारण बालबालिकालाई समयमै विद्यालय पठाउन र सरसफाइ गर्न गाह्रो भएको स्थानीय ललिता विष्टले बताए । सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएपछि टाढाको गाउँबस्ती भम्क, थापाबाडा, पानीपाल, बाउलीलगायतका स्थानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । विशेष गरेर मार्तडीमा पानी नहुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको नागरिक अगुवाले बताएका छन् ।

पानी नागरिकको आधारभूत आवश्यकता भएकाले नगरपालिका र उपभोक्ता समिति मिलेर सदरमुकाम क्षेत्रमा खोपानीको व्यवस्था गर्नुपर्ने माग स्थानीयको छ । उनीहरूले मुहान संरक्षण गरी नियमित गर्न सरोकार निकायलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार