प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्योः उपाध्यक्ष भुसाल

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताएकी छन्। बिहीबार काठमाडौंमा नेपाली कांग्रेसका नेता स्व प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक देखिएको बताइन्। उनले प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधि नै अहिलेको आवश्यकता रहेको बताइन्।

उनले राजनीतिक स्थिरता कायम भएमात्रै विकास निर्माण अघि बढाउन सकिने बताइन्। उनले राजनीतिक झैँ अहिले आर्थिक रुपमा पनि नेपालमा चुनौती बनेको बताइन्। उनले सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम गरिरहेको बताइन्।

उनले भनिन्, ‘म पहिला प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नेमा एकदमै सहमत हो। तर मैले पछिल्ला राजनीतिक घटनाक्रम र अन्तर्राष्ट्रिय स्तरमा भइरहको घटनाहरु हेर्दा को आउने हो ? के हुने हो भन्दा, कता जाने हो भन्ने प्रश्न त हुन्छ। तर जनताले जसलाई समर्थन गर्दछन्, जसले जनमत पाउँछ उसले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नुपर्छ।

अन्यथा हामी यही राजनीतिक अस्थिरताभित्र एक वर्षमा तीन पटक प्रधानमन्त्रीको विश्वासको मत लिने, त्यही सापेक्षतामा हामी संघीयताको मुख्यमन्त्री फेर्ने अनि यसका निम्ति हुने/नहुने जे थियो, त्यो हुने काम हुन्छ। प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधितिर हामी जानुपर्छ। यसले राजनीतिक स्थिरता कायम हुन्छ। राजनीतिक स्थिरता कायम भयो भने मात्रै विकास निर्माण अघि बढाउन सक्छौं। राजनीतिमा जस्तै अहिले आर्थिक रुपमा चुनौती बनेको छ। सहकारीको समस्या जटिल छ। सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम भएको छ।’

उपाध्यक्ष भुसालले राजनीतिक स्थायित्व दिने र अहिलेको परिवर्तनलाई बलियो बनाउने गरी अघि बढ्न जरुरी रहेको बताइन्। उनले अहिले नयाँ सहमतिमा अघि बढ्ने आवश्यकता रहेको बताइन्। उनले राजनीतिक अस्थिरता पैदा भएको र यसलाई स्थायित्वका लागि अघि बढाउन जरुरी रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार