प्रदेशसभामा पनि गृहमन्त्रीमाथि छानबिनको माग

२०८१ बैशाख ३१, सोमबार

मकवानपुर : गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने विषय प्रदेशसभामा पनि उठेको छ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्। सोमबारबाट सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेता लामाले लामिछानेमाथि संसदीय समिति छानबिन हुनुपर्ने र नभएको खण्डमा प्रदेशसभा चल्न नदिने चेतावनी दिएका हुन्।

विना धितो, विना जमानी सहकारीबाट करोडौँ रकम निकालेर अनियमितता गरेको आरोप लागेका गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने उनको माग थियो। ‘आफू प्रतिपक्षमा हुँदा छानबिन हुनुपर्ने, आफू सरकारमा हुँदा नपर्ने भन्ने तर्क सरासर गलत हो। यदि गृहमन्त्रीमाथि छानबिन भएन भने सङ्घमा जस्तै यहाँ पनि संसद् अवरुद्ध हुन सक्छ’, नेता लामाले भने। लामाले प्रतिपक्षको आवाजलाई कमजोर नठान्न चेतावनी दिँदै जनताले दुःख गरेर जम्मा गरेको रकम हिनामिना गर्नेलाई कांग्रेसले त्यत्तिकै नछाड्ने चेतावनी दिए।

यस्तै, उनले बागमती प्रदेशमा मन्त्रालय संख्या बढाउन लागेकोमा विरोध समेत गरे। आफूलाई चाहिँदा र सत्ता टिकाउन मन्त्रालय जति पनि बढाउन मिल्ने हो ? भन्दै उनले प्रश्न गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार