तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अङ्क थपेका हुन् ।

एस्टनको मैदानमा पाहुना टोली लिभरपुलले उपहार गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लियो ।

१२ औँ मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टनलाई बराबरीमा ल्याए । २३ औँ मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो ।

पहिलो हाफमा २–१ ले अघि रहेको लिभरपुलले दोस्रो हाफको सुरुमै (४८औँ मिनेट) जेरेल अमोरिन क्वान्साहले हार्भे इलियटको पासमा गोल गरेपछि ३–१ ले अघि रहेको थियो । तर, निर्धारित समय सकिन अन्तिम ५ मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमाएको थियो ।

८५ औँ मिनेटमा जोन डुरनले कलुम च्याम्बर्सको पासमा गोल गर्दै एस्टनलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनैले ८८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए ।

बराबरीसँगै एस्टन भिल्ला ३७ खेलबाट ६८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ७९ अङ्क जोडेको लिभरपुल भने तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार