एउटा धितोबाट दुई पटक ऋण, सहकारी सञ्चालक फरार

२०८१ जेष्ठ १, मंगलवार

टीकापुर : जोशीपुर गाउँपालिका–१ स्थित जीवनसाथी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स लिमिटेडका पदाधिकारीहरू सेयर सदस्य, बचतकर्ताको लाखौँ रकम डुबाएर भागेका छन् । जीवनसाथी सहकारी २०६७ साल भदौमा १७ जना संस्थापक सदस्यबाट एक लाखका दरले सेयर उठाएर सुरु भएको थियो । जोशीपुर गाउँपालिका–१, लकरमन्डीका अशोककुमार महतो सहकारी अध्यक्ष डम्बरबहादुर परियारले युवा स्वरोजगार कोषबाट ल्याएको ४० लाख रुपियाँ ऋण पनि हिनामिना गरेको बताउछन् ।

“स्वरोजगार कोषको ऋण नतिरेपछि सेयर सदस्यहरूले थप ७०/७० हजार रुपियाँका दरले दामासाहीमा तिर्‍यौँ,” महतो भन्नुहुन्छ, “शिक्षक भएकाले इज्जत जोगाउन थप पैसा तिरेर छोडेका हौँ ।” “सात दिनका लागि भनेर विद्यालयबाट सापटी मागेको दुई लाख ६० हजार रुपियाँ नतिरेपछि आफ्नो तलब कट्टी भयो,” शिक्षकसमेत रहनुभएका महतोले भने, “सहकारी अध्यक्ष परियार सन्तजन आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए ।”

जोशीपुरका व्यापारी भीम बम पनि सेयर सदस्य भएबापत कर्मचारीलाई तलब दिन नपुगेको भन्दै ५८ हजार रुपियाँ तिराएपछि सहकारी छोडेको बताउछन् । अध्यक्ष परियार रहेको सहकारीको पहिलो कोषाध्यक्ष र पछि सचिव बन्नुभएका खड्कबहादुर चौधरी थिए  । यी दुई जनाले जीवनसाथीमा ऋण लिन धितो राखेका व्यक्तिगत लालपुर्जा मेघा बैङ्कमा राखेर जग्गा लिलामी गराइदिएको बताइएको छ । जीवनसाथीमा जग्गा धितो राखेर १० लाख ऋण लिएका जोशीपुर गाउँपालिका–४, हस्नापुरका काशीराम महतोले साँवाब्याज बुझाइसकेपछि लालपुर्जा खोज्दा मेघा बैङ्कमा राखेको र ८५ लाख तिरेर लालपुर्जा फिर्ता ल्याएको उहाँका छोरा राममिलन बताउछन्  । मेघामा ६७ लाख ५० हजार रुपियाँ रकम तिर्न सचिव खड्कबहादुर चौधरीले ५७ लाख ५० हजार रुपियाँको चेक दिनुभएको थियो, उक्त चेककको खातामा पैसा नभएपछि पीडित महतोले चेक बाउन्सको मुद्दा हालेका थिए ।

“जिल्ला र पुनरावेदन अदालतमा मुद्दा लड्दालड्दै बैङ्कमा ब्याज ८५ लाख रुपियाँ पुग्यो,” राममिलन भन्नुहुन्छ, “साढे चार लाख रुपियाँका दरले २१ कट्ठा जग्गा बेचेर तिर्‍यौँ भने पनि अब घरबास मात्र बाँकी रहन्छ । उहाँले चेक बाउन्स ठगीको मुद्दा जिते पनि पैसा अझै नपाएको र सहकारी अध्यक्ष र सचिव फरार भएको जानकारी दिए । त्यस्तै चार लाख ऋण लिएका भजनी नगरपालिका–८, खैराका चन्द्रलाल डगौराले एक बिघा धितो राखेर चार लाख रुपियाँ ऋण लिएबापत मेघा बैङ्कबाट १९ लाख रुपियाँ तिरेर पुर्जा छुटाएको बताए ।

सहकारी डिभिजन कार्यालय कैलालीका अधिकृत विनोद पन्तका अनुसार २०६७ भदौमा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७५/७६ मा ६६ पुरुष र १४ महिला सदस्यबाट छ लाख छ हजार रुपियाँ सेयर सङ्कलन गरेको, ३५ लाख ८३ हजार बचत उठाएको र २२ लाख ७६ हजार ऋण लगानीमा रहेको विवरण बुझाएको छ ।

सरकारको स्वरोजगार कोष र मेघा बैङ्कको ऋण करोड रुपियाँ नाघे पनि सहकारी डिभिजनमा भने न्यून विवरण देखाइएको छ । जीवनसाथीको सहकारीको कार्यालय बन्द रहेको छ । १५ महिनादेखि घरभाडा नदिएको घरधनी धनसिंह भाट बताउछन् । पालिकाको सूचीमा ३६ वटा सहकारी भए पनि जीवनसाथीले कुनै विवरण नबुझाएको र ठगीबारेको गुनासो पनि नआएको जोशीपुर गाउँपालिकाको सहकारी शाखाका प्रमुख नारायण चौधरी बताउछन् । गाउँमा कहिलेकाहीँ मात्रै देखा पर्ने परियार र चौधरीले गाउँका धेरै व्यक्तिका जग्गा बैङ्कमा राखी लिलामी गरेका छन् । यसरी जग्गा लिलामी भएका व्यक्तिले घटनाका बारेमा सही सूचना दिन आनाकानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार