कान्तिपुरका मालिक कैलाशको साम्राज्य ३० बर्षः दर्जनौं पब्लिक कम्पनीहरुमा अर्बौंको गोल्डेन शेयर

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले अहिले सहकारीको जे जति लफडा भोगिरहेका छन्, त्यसको एक मात्र कारण हो, ग्यालेक्सी टिभीमा गोल्डेन शेयर लिनु । करोडौं कम्पनीमा गोल्डेन शेयरको हिसाब किताब र सम्पत्ति शुद्धिकरणमा समेत मिल्ने गरी जिबी राईले सहकारीबाट ऋण लिएको देखाएर हिसाब मिलाउने एउटा बिकल्प मात्रै बनाएका थिए ।

गृहमन्त्री रवि लामिछानेले आफैले काम गर्ने कम्पनीको गोल्डेन शेयर लिँदा त यत्रो कोकोहोलो मच्चियो भने कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहियाले पछिल्लो ३० वर्षमा नेपालमा खडा गरेको कैलाश साम्राज्य कत्रो होला ? सहजै अनुमान लगाउन सकिन्छ । आज बजारमा जे जसरी जे जति प्रतिक्रिया आइरहेका छन्, ति सबैले कैलास साम्राज्यको झल्को दिइनै रहेको छ । पछिल्लो तीन दशकमा कैलास साम्राज्यको उदय जसरी भएको छ, त्यो रवि लामिछानेको भन्दा कम छैन । भलै कैलासले राजनीति रोजेनन् व्यवसाय, पैसा र पावरको साम्राज्य भने बलियो बनाउँदै लगे । शायद उनलाई थाहा थियो, भारतीय बाबुका छोरा, अंगिकृत नागरिक भएर धेरै चुरीफुरी गर्दा एक दिन रविकै हालत हुन्छ भनेर । त्यसैले उनले आफ्नो नागरिकता सुटुक्क सच्याएर अंगिकृतबाट बंशज बनाए (अदालतबाट पुष्टि हुन बाँकी, तथ्यहरुबाट पुष्टि भएको) ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माका विरुद्धमा कान्तिपुरले छ वटा सम्पादकीय लेखेर स्टक एक्सचेन्जको लाइसेन्स नदिएको झोक फेरेसँगै मारवाडी व्यापारीको पैसामा सजिलै बिक्री भएका तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले सिरोहियाको पोल खोलिदिएका थिए । ‘कैलास सिरोहिया म कहाँ आएर स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्यो भनेका थिए, मैले प्रक्रिया अनुसार हुन्छ भनेर फर्काई दिए, त्यसपछि मेरोविरुद्धमा कान्तिपुरमा श्रृंखलाबद्ध समाचार आयो, छ वटा त सम्पादकीय नै लेखियो ।’ जनार्दन शर्मा मारवाडी व्यापारीसँग घुस सेटिङमा उनीहरुलाई लाइसेन्स दिने तयारीमा थिए । बीचमा आएर कान्तिपुरका मालिक सिरोहियाले स्टक एक्सचेन्जको लाइसेन्स आफूलाई चाहिएको बताएपछि जनार्दन शर्मा अप्ठेरोमा परे । उनले मारवाडी समुहले ल्याउन लागेको स्टक एक्सचेन्जलाई लाइसेन्स दिने भनेर आफन्तमार्फत ठूलो रकम घुस लिइसकेका थिए । कैलासलाई लाइसेन्स दिन सक्ने अवस्था थिएन । लाइसेन्स नपाएपछि कैलासले सेटिङ बनाए र अर्थमन्त्री शर्मामाथि भ्रष्टाचारीको आरोप मात्रै लगाइएन नियोजित रुपमा मुसा काण्ड घटाइयो ।

पछिल्लो ३० वर्षको अवधीमा कान्तिपुरकै आडमा कैलास सिरोहियाले आफ्नो विशाल साम्राज्य तयार पार्न सफल भएका छन् । तर, उनको साम्राज्य जनताको पक्षमा नभई लाभ आर्जन गर्नमा उपयोग गरे । सर्वोच्च अदालत कान्तिपुरले भने बमोजिम आदेश र फैसला दिन्थ्यो, कर्मचारीले कैलास सम्राज्यको योजना मुताविक टिप्पणी उठाउँथे । कैलासले भने बमोजिम प्रहरीले मुद्दा दर्ता र तहकिकात गर्थे । राजनीतिक दलका नेताहरुले कान्तिपुर पढेर त्यहाँ प्रकाशित समाचार अनुसार संसदमा बोल्नुपर्ने अवस्था सिर्जना गरिएको थियो । कैलास साम्राज्य अन्तर्गत नेपालको सार्वभौम सत्ताको ठूलो हिस्सा अंगिकृत नागरिक कैलास प्रसाद सिरोहियाले उपयोग गर्दै आएका थिए ।

देश बहुदलीय शासन व्यवस्था, राजाको प्रत्यक्ष शासनकाल हुँदै लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेको थियो । तर, कैलास साम्राज्यलाई जो आएपनि फरक पर्ने नै थिएन । आज जसरी टिभीमा प्रस्तुती दिएको र सञ्चारकर्मी हुनुको नाताले माफिया र भ्रष्टाचारीहरुलाई प्रश्न सोधेको दृष्य प्रत्यक्ष प्रशारण गरेर रवि हिट भए त्यसैगरी, जनआन्दोलन २०६२।०६३ मा कैलास प्रसाद सिरोहियाले आफूलाई आन्दोलनकारीको सूचिमा आठौं दलको संज्ञा पाएका थिए । देशैभरिका जिल्ला संवाददाताहरुमार्फत कैलास सिरोहियाले आफ्नो साम्राज्य खडा गर्न सुरु गरिसकेका थिए । जनयुद्धको समयमा पनि उनै कैलास सबैका प्रिय बने । लोकतन्त्रमा पनि उनै प्रिय बने । अनि सुरु भयो, कैलासको छुट्टै साम्राज्य । कैलास साम्राज्यको सुरुवाती चरणमा आफ्ना जिल्ला संवाददाताहरुलाई हरेक जिल्लास्थित खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष बनाउन लगाइएको थियो । माओवादी द्धन्द उत्कर्षतिर पुगेकै बेला कैलास साम्राज्य विस्तारको चरण अघि बढ्यो । रेडियो नेपाल, रासस र नेपाल टिभीका संवाददाता अध्यक्ष हुने खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष पद भटाभट उनले आफ्ना जिल्ला अध्यक्षलाई लिन लगाए । जिल्लास्थित संवाददाता र सिंहदरवारमात्रै होइन, सुबथा, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, गिरिजा प्रसाद कोइरालाको ओछ्यानसम्मै कैलास साम्राज्यको पहुँच स्थापित भयो । जब प्रचण्डको ओछ्यानमा पुग्न अजेय सुमार्गी प्रयोग गरे, सुमार्गीले नै तीनकुनेको जग्गा भ्याईदिए । त्यसपछिको झगडा बडो रोचक थियो । अहिले कैलास साम्राज्यसँगको झगडा सुमार्गीका लागि निकै महंगो सावित पनि भएको छ । किनभने सुमार्गीको फुर्तीफार्ती त्यसपछि हरायो । पत्रकार महासंघको चुनाव आउँथ्यो, कान्तिपुरका देशैभरिका संवाददाताहरु भएकोले उसैको सबैभन्दा धेरै भोट, अधिकांश जिल्लास्थित खानेपानी व्यवस्थापन बोर्डका उसैका रिपोर्टर अध्यक्ष, केन्द्रमा संसद र सिंहदरवारमा कान्तिपुरका दर्जनौं पत्रकारहरु घुमिरहन्थे ।

यही आडमा कान्तिपुरले विरोधाभाषपूर्ण कङ्लोमोरेट्स खडा गर्न सफल भयो । यही मिडियाको कङ्लोमोरेट्सको आडमा आज विशाल साम्राज्य खडा गर्न सफल भएको छ । भ्रष्टाचार, सेटिङ, घुसको आडमा कैलास महाराजले अर्बौ रुपैयाँको बिशाल आर्थिक साम्राज्य समेत खडा गर्न सफल भएका छन् । नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये दर्जनौं कम्पनीमा कैलास साम्राज्यका टाईकुन सिरोहियाको नाममा गोल्डेन शेयर (पैसा तिर्नु नपर्ने सित्तैमा उपहार स्वरुप दिइने शेयर) राखिएको छ । बीमा कम्पनी, बैंक, अन्य कर्पोरेट उद्योगहरुमा सिरोहियाले अर्बौ रुपैयाँको गोल्डेन शेयर लिइसकेका छन् । पछिल्लो उदाहरण हेर्ने हो भने इसेवा र एफवान सफ्ट नेपालको नयाँ इमर्जिङ क्षेत्रमा उनको शेयर थिएन । कान्तिपुर दैनिकमा न्यूज ठोकेरै इसेवालाई ७२ घण्टाभित्र गलाउन कैलास साम्राज्यले सफलता प्राप्त गर्यो । जसको परिणाम १० प्रतिशत गोल्डेन शेयर हात पर्यो । इसेवा र एफवान सफ्टमा अस्गर अलि र विश्वास ढकाल नाम गरेका व्यक्ति मुख्य सञ्चालक थिए । चार जना भएर खोलिएको इसेवा (एफवान सफ्ट) बाट अहिले अस्गर अलि लखेटिएका छन् । सुरुमा १० प्रतिशत गोल्डेन शेयर (कान्तिपुरमा थप समाचार नलेख्ने शर्तमा) लिएर छिरेका सिरोहियाले कम्पनी नै कब्जा गरेर छोरा सम्भव सिरोहियालाई सञ्चालक बनाएका छन् । नियामक राष्ट्र बैंकलाई दपेटेपछि गभर्नर महाप्रसाद अधिकारीले एक शब्द बोल्न सकेनन्, अनि सिरोहियाको एफवान सफ्टले अहिले राष्ट्रघात गर्दै भारतसँग क्रसबोर्डर ट्रान्जेक्सन सुरु गरेको छ । यस्तै, अर्को उदाहरण चन्द्रागिरी हिल्सलाई पनि लिन सकिन्छ । चन्द्रागिरी हिल्सको शेयर पनि सिरोहियाले सित्तैमा पाएका हुन् ।

इसेवा र चन्द्रागिरी हिल्समा जस्तो त कैलास साम्राज्यले दर्जनौं पब्लिक कम्पनीमा गरेका छन् । अहिले पनि बैंक, फाइनान्स, बीमा कम्पनी, पब्लिक कम्पनीमा अर्बौ रुपैयाँको शेयर छ । त्यसको लगानी स्रोत के हो ? हालसम्म सिरोहियाको लगानी रहेका कम्पनीहरुमा गरेको लगानीलाई मुनाफा मान्ने हो भने सो बमोजिमको कर तिरेका छन् त ? कर फस्र्यौट आयोगका सदस्यहरुलाई भ्रष्टाचारको मुद्दा लाग्यो । कर फस्र्यौट आयोगबाट जनताबाट उठाएको भ्याट नतिरी छुट पाउने कैलास साम्राज्यको मिडिया पनि थियो । छुटको लाभ लिने कैलास साम्राज्यमाथि कुनै कारवाही भएन न असुली नै भयो । न्यायालयभित्र पनि उस्तै सेटिङ । हुँदा हुँदा राजनीतिक भागबण्डामा न्यायाधिश नियुक्ती गर्दा कान्तिपुरकै लागि कोटा छुट्याउनुपर्ने अवस्था सिर्जना भइसकेको छ । नपत्याए कान्तिपुरमा न्याय सम्बन्धी बहस कार्यक्रम चलाउने हरि फुयाँललाई हेर्दा हुन्छ । उनी अहिले कहाँ न्यायाधिश छन् ? यी सबै काण्डहरुको स्वतन्त्र छानविन गर्ने हिम्मत गृहमन्त्री रवि लामिछानेमा होला त ?

कुनै जमाना थियो । हेमराज ज्ञवाली भन्ने व्यक्ति भन्सारमा हाकिम थिए । २०४३ सालतिर महानिर्देशक समेत भए । घाँसीराम सिरोहिया भारतीय नागरिक हुन् । उनी नेपाल र भारतका भन्सार नाकामा घुस खुवाएर माल सामान छुटाउने बिचौलियाको काम गर्दथे । ज्ञवाली भन्सार प्रमुखसम्म हुँदा कमाएको लाखौं रुपैयाँमाथि दरवारको आँखा लाग्ने डर थियो । घुस खुवाउने सेटिङ गर्ने सिरोहियालाई पनि पैसाको कमी थिएन । सुरुमा श्याम गोयन्का र हेमराज ज्ञवाली अनि कैलास सिरोहिया मिलेर कान्तिपुर स्थापना भएको थियो । श्याम गोयन्काको शेयर सिरोहियाले कब्जा गरेका हुन् ।

मिडियाको आडमा सार्वभौम सत्ताकै उपयोग गर्ने तहमा पुगेको र मुलुककै तेस्रो चौथो दलको रुपमा आफूलाई उभ्याउन पुगेका कैलास साम्राज्यमाथि धावा बोल्ने अठोट र दृढ निश्चय वर्तमान सरकारले गरेको हो भने त्यो सराहनीय कदम हो । त्यसको सबैले स्वागत गर्नुपर्दछ । सार्वभौम सत्ता जन निर्वाचित सरकारमा निहीत भनेर संविधानमा लेखेर मात्रै हुँदैन । व्यवहारमा नेताले भट्टीबाट सार्वभौमसत्ताको उपयोग गर्ने र कुनै व्यक्तिले मिडियामा कङ्लोमोरेट्स खडा गरेर विशाल साम्राज्य खडा गर्ने कार्य न लोकतन्त्र हो न प्रेस स्वतन्त्रता ।

सरकारले सर्पको दुलोमा हात हालिसकेको छ । अब पछि हट्ने होइन । एक एक गरेर कैलास साम्राज्यका काण्डहरुको छानविन गर्नसक्नुपर्दछ । त्यो छानविनको वातारण बनाउने काममा सहयोग गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षधरहरु एक जुट हुनुको विकल्प छैन । यो समाचार बिमापोष्टबाट साभार गरिएको हो । 

यी हुन् कान्तिपुरका मालिक पक्राउ पर्नाका कारणहरु (आरोपपत्र सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
0

ताजा समाचार