लोकगायक कुमार बस्नेतसहित चार कलाकारलाई सम्मान गरिने

२०८१ जेष्ठ २८, सोमबार

काठमाडौं : लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट) बाट सम्मानित गरिने भएको छ। दरबारमार्गमा रहेको दरबार रोधी क्लबले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा बस्नेतलाई सम्मान गर्ने भएको हो। ‘छोरी भन्दा आमा तरूनी, लैबरी लै, डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका ८१ वर्षिय बस्नेतले समाजका विकृति, विसंगति, कु–संस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याएको भन्दै सम्मानित गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए।

जेठ ३२ मा हुने कार्यक्रममा लोकदोहोरी गायनमै पुर्‍याएको योगदानको कदर गर्दै बद्री पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई पनि विशेष सम्मान प्रदान गरिने गिरीले जानकारी दिए। त्यस्तै, पत्रकारका तर्फबाट ऋषी धमलालाई विशेष सम्मान दिने निर्णय भएको छ।

हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा सर्जकहरूलाई सम्मान गर्दै आएको दरबार रोधीले यसपटकबाट लोक तथा दोहोरीगीतको क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। विष्णु शर्मा, सुशील नेपाल, अन्वेशन अधिकार, नरेन्द्र रौले र आयशा दाहाललाई नगदसहित सम्मानपत्रबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो।

दरबार रोधी क्लबले जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको छ। शुक्रबार हुने उद्घाटन समारोहमा माननीय संस्कृति मन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विशेष अतिथिका रुपमा सहभागी हुने जनाइएको छ। पशुपति शर्मा, दुर्गेश थापा, टिका पुन, पूर्णकला बिसी, करिष्मा ढकाललगायत थुप्रै कलाकारहरू वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने क्लबले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार