समानान्तर कमिटी बनाएका नितेश पौडेल युवा संघबाट निष्काशित

२०८१ जेष्ठ २९, मंगलवार

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले समानान्तर कमिटी बनाएको भन्दै सह-संयोजक नितेश पौडेलसहित तीन जनालाई निष्काशन गरेको छ ।

संयोजक कृष्णकुमार विश्वकर्माले सहसंयोजक पौडेल, कार्यालय सदस्यहरु रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरेका छन् । संयोजक विश्वकर्माले मंगलबार प्रेस बक्तत्व जारी गरी समानान्तर कमिटी बनाएकाले संघको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको उल्लेख गरेका छन् ।

‘..विधानको व्यवस्था भए अनुरुप सहसंयोजक क. नितेश पौडेल, कार्यालय सदस्यद्वय क.रोशन थापा र क.फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिसकिएको छ र पार्टीलाई यसको जानकारी पठाइसकिएको छ’, बक्तव्यमा उल्लेख छ ।

गत शनिबार राजधानीमा गरिएको एक भेलाबाट पौडेल संयोजक र फुर्वा लामा सहसंयोजक घोषणा भएका थिए । संयोजक विश्वकर्माले महाधिवेशन नगरेको भन्दै पौडेल पक्षले समानान्तर कमिटी घोषणा गरेको थियो । पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालका भाञ्जा हुन् भने विश्वकर्मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट नेता हुन् । उनीहरुबीच युवा संघ नेपालमा पहिलेबाटै विवाद हुँदै आएको छ ।

गत वर्ष भदौमा समेत समानान्तर भेलाबाट नेतृत्व घोषणाको तयारी भएको थियो । पार्टी उपमहासचिव डा. बिजय पौडेलको उपस्थितिमा भएको भेलाबाट कृष्ण विश्वकर्मालाई संयोजक तोक्ने तयारी भएपछि दीपक मनाङेको उपस्थितिमा भएको अर्को भेलाबाट नितेश पौडेललाई संयोजक तोक्ने तयारी भएको थियो ।

तर पार्टीले हस्तक्षेप गरी विश्वकर्मालाई संयोजक र पौडेललाई सहसंयोजक तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार