कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका-१ बुचीस्थित बाणगंगा नदीमा हामफालेर एक पुरुष बेपत्ता भएका छन्।
प्रहरीका अनुसार बाणगंगा नगरपालिका-८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले आज दिउँसो बुड्ची र बोडगाउँको सिमाना जोड्ने बाणगंगा नदीको पक्की पुलको उत्तरी किनारबाट हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जनाको टोली उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो। खोजीका क्रममा नदी किनारबाट पुरुषले लगाउने कपडा तथा चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले बताए।
उनका अनुसार बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा नेपाल प्रहरीको थप टोलीसमेत परिचालन गरिएको छ। प्रहरीले नदीमा खोजी कार्य जारी राखेको जनाएको छ।









