सैन्य अड्डामा आगलागी हुँदा चार सैनिकको मृत्यु

२०८३ कार्तिक २, सोमबार

काठमाडौं : क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य अड्डामा भएको भीषण आगलागीमा परी चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्रधानमन्त्री मार्क कार्नीले आइतबार घटनाबारे जानकारी दिँदै मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । शनिबार क्यानडाको वेनराइट सैन्य अड्डामा सैनिकहरू तालिममा सहभागी भइरहेका बेला आगलागी भएको थियो । तीव्र हावाका कारण आगो सैन्य अड्डाबाट बाहिर फैलिँदै वरपरका ग्रामीण क्षेत्रमा समेत पुगेको थियो ।

अधिकारीहरूका अनुसार, घटनामा आतंकवादी गतिविधिको संकेत फेला परेको छैन । यद्यपि, आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । प्रधानमन्त्री कार्नीका अनुसार, आगलागी हुँदा सैनिकहरू सैन्य तालिममा सहभागी भइरहेका थिए । घाइतेहरूको यकिन संख्या भने तत्काल सार्वजनिक नभइसकेको बताइएको छ ।

घटनाबाट प्रभावित हुनेमा रिजर्भ सैनिक तथा क्यानडाको प्रतिष्ठित सैन्य एकाइ ‘प्रिन्सेस पेट्रिसिया क्यानेडियन लाइट इन्फन्ट्री’का सदस्यहरू पनि छन् । उनीहरू देशका विभिन्न सैन्य अड्डाबाट तालिमका लागि वेनराइट पुगेका थिए ।

प्रधानमन्त्री कार्नीले यस घटनालाई शान्तिकालमा क्यानडाको भूमिमा सेनासँग घटेका सबैभन्दा गम्भीर त्रासदीमध्ये एक भन्दै दुःख व्यक्त गरेका छन् । उनले मृतक तथा घाइते सैनिकको सम्मानमा देशभरका संघीय भवनमा राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका छन् । क्यानडाली सेनाले हालसम्म आगलागी आतंकवादी हमलाका कारण भएको कुनै प्रमाण वा सूचना प्राप्त नभएको स्पष्ट पारेको छ । यद्यपि, आगलागीको वास्तविक कारण अझै पत्ता लागेको छैन ।

रोयल क्यानेडियन माउन्टेड प्रहरी (आरसीएमपी)लाई शनिबार साँझ करिब ४ बजे सैन्य अड्डाको तालिम क्षेत्रमा आगलागी भएको सूचना प्राप्त भएको थियो । क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र परिस्थिति संवेदनशील रहेको बताएका छन् । अधिकारीहरूले घटनासम्बन्धी प्रमाण तथा विवरण संकलन गरिरहेको बताइएको छ ।

घटनाको दिन अल्बर्टाका कैयौँ क्षेत्रमा तीव्र हावा चलेको थियो । हावाको गति प्रतिघण्टा १०० किलोमिटरसम्म पुगेको बताइएको छ । तीव्र हावाका कारण रूख ढलेका थिए भने सडकका संकेत बोर्डसमेत उडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार