जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

२०८३ कार्तिक २, सोमबार

जुम्ला : जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको छ ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार ३३० मेट्रिकटन बाहिरी जिल्लामा गएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भई रु ५५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

हाल प्रतिकेजी न्यूनतम रु ७५ मा स्थानीय बगैँचाबाट किसानले स्याउ बिक्री गरिरहेका छन् । तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउ खेतीबाट मात्र ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ । जसबाट मात्र रु ३० लाख बराबरको स्याउ बिक्री भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य कार्यालयले लिएको कार्यालय प्रमुख अधिकारीले बताए ।

उच्च जातको फुजी स्याउको खेती भने जम्मा ५२ हेक्टर क्षेत्रफलमा भएको छ । यस वर्ष ४९ हेक्टरमा मात्र फुजी स्याउ फलेको कृषि कार्यालयले जनाएको छ । यसैगरी, रेडडेलिसेस, रोयलडेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको खेती भई बिक्री वितरण भइरहेको कृषि कार्यालयले जनाएको छ ।

केही स्याउ व्यापारीले कोल्ड स्टोरका साथै घरमा पनि राखिएकाले निर्यात र रकम बढ्न सक्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार यहाँका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेको जनाएको छ ।

यो वर्ष भारतबाट आउने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले बजार राम्रो पाएको छ । जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी माया रोकायाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार